प्रदेशसभाका सांसदको शपथ आज


प्रकाशित मिति : माघ ७, २०७४ आईतबार

माघ ७, काठमाडौं । सातवटै प्रदेशका ५ सय ५० सांसदले आइतबार पद तथा गोपनीयताको शपथ लिँदै छन्। हामीले समाचार तयार गर्दासम्म ६ नम्बर प्रदेशबाहेकका सबै प्रदेश प्रमुख अस्थायी राजधानी पुगिसकेका छन्। पहिलो चरणमा प्रदेश प्रमुखले जेष्ठ प्रदेशसभा सदस्यलाई शपथ गराउने छन्। लगत्तै प्रदेशसभा सदस्यहरूले जेष्ठ सदस्यबाट शपथ लिनेछन्। प्रदेश १ प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरमा बिहान १० बजेपछि शपथ ग्रहणको तयारी गरिएको छ। वीरेन्द्र सभागृहमा शपथ ग्रहण समारोह गर्न तयारी पूरा भएको छ। जेष्ठ सदस्यलाई शपथ गराउने प्रदेश प्रमुख गोविन्द सुब्बा अस्थायी केन्द्र पुगिसकेका छन्।

प्रदेश २ प्रदेश नं २ का प्रदेशसभा सदस्यको शपथ जनकपुरस्थित उद्योग वाण्ज्यि संघको कार्यलयमा हुनेछ। धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईँका अनुसार बिहान १० बजे जनकपुर उद्योग वाणिज्य संघको राजर्षि सभागृहमा शपथ ग्रहण समारोह आयोजना गरिएको छ। प्रदेश नम्बर २ मा १ सय ७ जना प्रदेशसभा सदस्य छन्। प्रदेश ३  ३ नम्बर प्रदेशमा प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभा सदस्यमध्येका जेष्ठ सदस्य डोरमणि पौडेललाई शपथ गराएर शपथको सुरुवात गर्ने कार्यक्रम तय भएको छ। बिहान १० बजे जेष्ठ सदस्य पौडेलले शपथ लिएपछि अन्य १ सय ९ प्रदेशसभा सदस्यलाई ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए।

प्रदेश ४ प्रदेश नम्बर ४ को पोखरामा पनि बिहान १० बजेपछि शपथ ग्रहणको तयारी भएको छ। पोखरामा रहेको नगर विकास प्रशिक्षण केन्द्रमा प्रदेशसभा सदस्यमध्ये जेष्ठ सदस्यलाई शपथ गराइने छ। उनले अन्य सदस्यलाई शपथ गराउने छन्। प्रदेश ५ पाँच नम्बर प्रदेशका सांसद्हरुलाई शपथ उद्योग वाणिज्य संघको कार्यलयमा हुनेछ। प्रदेशका प्रमुख उमाकान्त झाले बिहान १० बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेपछि बिहान ११ बजे प्रदेशसभा सदस्यमध्ये जेष्ठ सांसद बलदेव शर्मा पोखरेललाई शपथ खुवाउने कार्यक्रम छ। जेष्ठ सांसद पोखरेलले प्रदेश प्रमुखको उपस्थितिमा अरु सांसद्हरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन्। प्रदेश ६ ६ नम्बर प्रदेशका सांसदलाई सुर्खेतको जिल्ला समन्वय समितिको हलमा आइतबार बिहान ११ बजे शपथ गराउने तयारी गरिएको छ। हालसम्म प्रदेश प्रमुख दर्गाकेश खनाल प्रदेश राजधानी पुगेका छैनन्। उनी पुग्न ढिला भए शपथग्रहण कार्यक्रम केही समय सर्नेछ। प्रदेश ७ सात नम्बर प्रदेशको अस्थायी मुकाम धनगढीस्थित जिल्ला समन्वय समिति कार्यालयको सभाकक्षमा प्रदेश सांसदको शपथ ग्रहाणको तयारी गरिएको छ। बिहान ११ बजे शपथग्रहण समारोहको तय भएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com