मिचिएको सीमाक्षेत्रको निरीक्षणमा काठमाडौंबाट उच्चस्तरीय प्राविधिक टोली


प्रकाशित मिति : माघ ६, २०७४ शनिबार

वीरगन्जको छपकैयास्थित नेपाल भारतको सीमामा देखिएको विवादबारे काठमाडौंबाट आएको उच्चस्तरीय प्राविधिक टोलीले शनिबारदेखि स्थलगत नीरिक्षण सुरु गरेको छ । सीमामा हराएका र जीर्ण भएका पिलर मर्मत र निर्माणका क्रममा लालपुर्जा भएकै नम्बरी जग्गा समेत भारततर्फ पर्न गएको भन्दै जग्गा धनीले विरोध गरेपछि नापी विभाग काठमाण्डौको उच्चस्तरीय प्राविधिक टोली वीरगन्ज आएको हो ।

काठमाण्डौंबाट आएको नापी विभागका निर्देशकद्वय अनिल मरासीनी र दामोदर ढकाल नेतृत्वको उच्च स्तरीय टोलीले विवादित छपकैयाको सीमामा शनिबार बिहान पुगेर त्यहाँ गाडिएका नयाँ पिलरहरुको स्थलगत अनुगमन गरेको छ ।

नयाँ पिलर गाडिएपछि भारततर्फ पर्न गएको नेपाली जग्गामा शनिबारदेखि पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, सशस्त्र प्रहरी उपरीक्षक शान्तिकुमार कार्कीका साथ निर्देशकद्वय मरासीनी र ढकाल नेतृत्वको टोलीले विवादीत सीमा क्षेत्रमा स्थलगत निरिक्षण शुरु गरेको प्रमुख नापी अधिकृत रमेश ज्ञवालीले बताए ।

काठमाण्डौंबाट आएको टोलीले विवाद देखिएका सीमा क्षेत्र, त्यहाँ गाडिएका नयाँ पिलर, जीर्ण पिलरहरुको सोमबार सम्म स्थलगत नीरिक्षण र नापजाँच गर्ने ज्ञवालीले जानकारी दिए ।

तत्कालका लागि पिलर मर्मत र पुनः निर्माणको काम रोक्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेपछि नापी विभागको टोलीले पुस ३० गतेदेखि पिलर गाड्ने काम रोकेको छ । विवादीत सीमा क्षेत्रको बारेमा टुङगो नलागेसम्म पिलर मर्मत र पुर्न निर्माणको काम अगाडि नबढाउन स्थानीय प्रशासनले आग्रह गरेपछि नापीको टोलीले काम रोकेको प्रमुख जिल्ला अधिकारी सिंहले बताए ।

नापी अधिकृत ज्ञवालीका अनुसार सन् १८१६ देखि १८७५ सम्म दुवै देश बीच भएका चारवटा सन्धि र सम्झौता अनुसार स्ट्रिप म्यापका आधारमा चितवन, पर्सा र बारामा क्षतिग्रस्त पिलरको मर्मत र हराएका स्थानमा नयाँ कुल एक हजार आठ सय ७० मुख्य र सहायक पिलर राख्ने काम भइरहेको छ । पर्सामा मात्रै तीन सय ४० वटा पिलरको मर्मत र तीन सय ६९ वटा नयाँ पिलर निर्माण भइरहेको उनले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com