माघ १३ गते देखि नारायणगढ मुग्लिन दिउसो पनि बन्द गरिने


प्रकाशित मिति : माघ ५, २०७४ शुक्रबार

नारायणगढ मुग्लिन सडक हुँदै गाडीमा यात्रा गर्नेहरुले माघ १३ गतेदेखि देखि बन्दको झन्झट पनि बेहोर्नु पर्ने छ। निर्माणाधीन नारायणगढ मुग्लिन सडक खण्ड माघ १३ गतेदेखि दिउँसोमा पनि बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको ठेकेदारका प्रतिनिधि, आयोजनाका अधिकारीसहितको बैठकले माघ १३ देखि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

अहिले सो सडकखण्ड राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ । रातिमा सडक बन्द गर्दा धेरै काम गर्न नसकिएकाले दिउँसोमा बन्द गर्न लागिएको ठेकेदार कम्पनीले बताएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दिउँसोको समयमा ६ घण्टा सडक बन्द गरी १ महिना काम गर्न दिने बताए । ‘१ महिनाभित्र दिउँसोमा बन्द गरी काम गर्दा हुने प्रगतिको स्पष्ट कार्ययोजना, ट्राफिक म्यानेजमेन्ट र प्रतिदिनको प्रगति विवरण ३ दिन भित्र पेश गर्न भनेका छौं’, प्रमुख जिल्ला अधिकारी भट्टले भने,’अब १ महिना ट्रयालका रुपमा हेर्दछौं ।’

ठेकेदारसँग आयोजनाको सम्झौता अवधि सकिन जम्मा १ महिना मात्रै बाँकी हुँदा काम भने २९ प्रतिशत बाँकी नै छ । हालसम्म ९२ प्रतिशत काम सकिनुपर्नेमा जम्मा ७१.१ प्रतिशत मात्रैं काम सकिएको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com