सरकारले संघीयताको अर्थै बुझेन : अनन्त


प्रकाशित मिति : माघ ५, २०७४ शुक्रबार

रोल्पा, ५ माघ । प्रदेश नम्बर पाँचको अस्थायी केन्द्रका विषयमा आन्दोलन र विरोध चलिरहेका बेला प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ले संघीयता भनेको निकटता भएको भन्दै उनले सरकारले संघीयताको अर्थनै नबुझेको आरोप लगाए । ‘संघीयतालाई त्यो रुपमा बुझेको भए प्रदेश पाँचका १२ जिल्लालाई हेरेर भौगोलिक सुगमता हुनेगरी अस्थायी केन्द्र तोक्नुपथ्र्यो’ माओवादीका प्रभावशाली नेता समेत रहेका अनन्तले भने ‘थोरै मान्छेहरुले मात्र हालीमुहाली गर्नेगरी संघीयतालाई लागु गर्न खोज्नु सरकारको पश्चगामी मानसिकता हो, यो सच्याउनैपर्छ ।’

अनन्तले आन्दोलनरत जनताले पनि यसलाई संयमतापूर्वक लिनुपर्ने बताए । उछ्ंखल गतिविधि गर्दा जनता आफैले दुःख पाउने अवस्था हुने भएकाले आन्दोलनरत जनतालाई संयम बन्न आग्रह गर्दै अनन्तले यसलाई राजनीतिक तहबाट सुगमता र निकटता हेरेर नयाँ व्यवस्था गर्न पहल गर्ने बताए । पनि सरकारले निर्णयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । सिंहदरबार केन्द्रीत अधिकारलाई गाउँमा पु¥याउने संघीयताको मर्मविपरित प्रदेश केन्द्र तोकेर सरकारले गम्भिर गल्ती गरेको उनको भनाई छ । ‘जनताको म्यान्डेट सरकारले गरेजस्तो मनोमानी थिएन’ अनन्तले भने ‘भौगोलिक सुगमताजस्तो आधारभूत कुरालाई पनि ख्याल नगरी प्रदेशको केन्द्र तोकिनु त्रुटिपूर्ण छ, यसमा सरकारले पुनर्विचार गरोस् ।’

नेता वर्षमान पुनले सबैले अनुमान गरेको, उच्च अदालत र प्रदेश प्रहरीको अस्थायी केन्द्र पनि दाङमा राखिसकेको, निर्वाचन आयोगले समेत राष्ट्रिय सभाको निर्वाचनको लागि पनि अस्थायी केन्द्र दाङ तुलसीपुर राखिसकेको सन्दर्भमा सबैले अस्थायी केन्द्र दाङ नै हुन्छ भन्ने मानसिकता बनाइसकेका बेला आश्चर्यचकित पार्ने गरी निर्णय गरेको भन्दै त्यसको विरोध गरे ।

‘जहाँ निर्वाचन आयोग, उच्च अदालत छ त्यहाँ नै प्रदेशसभा सदस्यहरु जम्मा हुने, सपथग्रहण गर्ने, मतदान गर्ने वातावरण बनाउनुपर्ने हो’ अनन्तले भने ‘त्यसो भएन, यो सरकारको गम्भिर गल्ती हो ।’ संक्रमणकालीन सरकारले झनै संक्रमणकालीन निर्णय गरेको भन्दै उनले अहिले दाङमै तोकेर पछि निर्वाचित जनप्रतिनिधिहरुले जहाँ पायक ठान्नुहुन्छ दुईतिहाईका आधारमा त्यही लैजानसक्ने बताए ।

पूर्व अर्थमन्त्री  पुन ‘अनन्त’ले प्रदेशसभा सदस्यहरुको दुईतिहाई बहुमतले केन्द्र तोक्ने व्यवस्था भएकाले त्यसतर्फ ख्याल गर्दै जनप्रतिनिधिहरुले जनतालाई संयमित बनाउनुपर्ने धारणा व्यक्त गरे । प्रदेशसभा सदस्यहरुले अहिले नै यसविषयमा आपसी समझदारी गरी केन्द्रका विषयमा परिपक्व धारणा बनाउन पनि उनले आग्रह गरे । रोल्पाको खुंग्रीमा आयोजित चतुर्भूज महोत्सवको उदघाटन गर्न अनन्त रोल्पा पुगेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com