सुत्केरी हुन आउने महिलालाई निःशुल्क एम्बुलेन्स


प्रकाशित मिति : माघ ५, २०७४ शुक्रबार

–महिला खबर–
रुकुम । रुकुमको आठविसकोट नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाहरूको लागि निःशुल्क एम्बुलेन्स सेवा सुचारु गर्ने भएको छ ।

गर्भवती महिलाहरूलाई स्वास्थ्य संस्थामा सुरक्षितरुपमा सुत्केरी गराउने उद्देश्यले एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो ।

नगर प्रमुख गोरखबहादुर केसीले नगरपालिका आफैले दुई वटा एम्बुलेन्स खरिद गर्न लागेको बताए । यातायात सेवाको अभावमा धेरै महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा नआउने भएका कारण सुरक्षित तरिकाले अस्पतालमा सुत्केरी गराउँदा आमा र शिशु दुवैको ज्यान खतरामा पर्नबाट जोगिन्छ भन्ने कुराको प्रचारप्रसार गर्न एम्बुलेन्स सेवा सुचारु गर्न लागिएको उनले बताए । यसो भएमा सुत्केरीलाई सहज हुने केसीले बताए ।

उनले भने ‘सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन नसक्दा महिलामा विभिन्न खालका स्वास्थ्य समस्या देखिएको छ । सुरक्षित मातृत्व सेवाका लागि निःशुल्करुपमा एम्बुलेन्सको व्यवस्था गर्न लागिएको हो ।’

नगरपालिकाले यसअघि विशेषज्ञ चिकित्सकको नेतृत्वमा स्वास्थ्य शिविरको समेत आयोजना गरेको थियो । स्वास्थ्य शिविरमा अधिकांश महिलामा तल्लोपेट दुख्ने र पाठेघर खसेको समस्या देखिएको थियो । सो अवसरमा चिकित्सकको टोलीले नगरपालिकाभित्र स्वास्थ्यमा सुधार ल्याउन एम्बुलेन्स सञ्चालन गर्न सुझाव दिएका थिए ।

यसैबीच नगरपालिकाले सुत्केरी तथा गर्भवती महिलालाई स्वास्थ्य संस्थामा खोप लगाउन आउँदा तरकारीको बीउ उपहार समेत दिने कार्यक्रम सुरु गरेको छ । महिला तथा बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन र नगरपालिकालाई पूर्ण खोपयुक्त नगर बनाउन उक्त कार्यक्रम सञ्चालन गरिएको प्रमुख केसीले बताए ।

यस्तै नगरपालिकाले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउने आमालाई दुई हजार रुपैयाँ बराबरको पोषिलो चामल, तेल, जिरा, मसला र तरकारीको बीउ उपहार दिने कार्यक्रम समेत शुरु गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com