आन्दोलनमा उत्रेका नर्सले आज ८ घण्टा काम ठप्प पारे


प्रकाशित मिति : माघ ४, २०७४ बिहीबार

माघ ४, काठमाडौं । विभिन्न ११ बुँदे माग राख्दै एक सातादेखि आन्दोलनमा उत्रिएका नर्सहरुले आज ८ घण्टा काम ठप्प पारेका छन्। माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयले चासो नदेखाएपछि पूर्वनिर्धारित तालिकाअनुसार बिहिबार बिहान ४ बजेदेखि ८ घण्टासम्मका लागि काम बन्द गरेको नेपाल नर्सिङ संघले जनाएको छ। उनीहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त पुनर्बहाली गर्नुपर्ने, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुर्नस्थापना गरिनुपर्ने, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको नर्स र बिरामीको अनुपात सबै अस्पतालमा लागू गर्नुपर्ने, निजी संस्थामा कार्यरत नर्सहरुलाई पनि तहगत आधारमा न्यूनतम तलबभत्ता उपलब्ध गराउनुपर्नेलगायत ११ बुँदे माग राखेका छन्।

यसैबीच स्वास्थ्य मन्त्रालयले भने नर्सहरुको मागका सम्बन्धमा वार्ता गरी टुंगोमा पु¥याउन मन्त्रालयमा प्रमुख विशेषज्ञ चिकित्सक डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता प्रक्रिया अघि बढाएको छ । बुधवारदेखि वार्ताको पहल थालेको मन्त्रालयले बिहिवार ११ बजेदेखि वार्ता गरिरहेको छ। वार्ता समितिका सदस्यमा डा. गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, नर्सिङ प्रशासक कल्पना सुब्बा, अमृता पहारी र चुणामणि भण्डारी रहेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com