चमेलिया जलविद्युत् आयोजना र स्थानीयवासीबीचको सम्झौता ७ वर्षसम्म कार्यान्वयन भएन


प्रकाशित मिति : माघ ४, २०७४ बिहीबार

माघ ४, दार्चुला । चमेलिया जलविद्युत् आयोजनाको काम थालिनी गर्दा स्थानीयवासीहरुसँग ७ वर्ष अघि भएको सम्झौता कार्यान्वयन हुन सकेको छैन ।

आयोजनाको अडिट टनेल नम्बर २ को काम सञ्चालन गरिएका बेला बारिलका स्थानीयवासीले खानेपानी तथा सिचाइँ मुहानहरु सुकेका भन्दै आन्दोलित भएपछि माग सम्बोधन गर्ने प्रतिबद्धतासहित २०६७ सालमा सम्झौता गरिएको थियो ।

 

शैल्यशिखर नगरपालिका(१ शिखरको बारिलस्थित अडिट टनेल नम्बर २ को सुरुङ खन्दा साविकको शिखर गाविसका वडा नम्बर १, २ र ३ का वस्तीहरुमा खानेपानी तथा सिचाइँका मुहानहरु सुकेको भन्दै आान्दोलन गरेका थिए ।

तर, ७ वर्ष बितिसक्दा समेत आयोजनाले सम्झौता कार्यान्वयन नगरेको स्थानीयवासीको गनासो छ ।

सुरुङ भन्दा माथिका वस्तीहरुमा पानीका मुहान सुकेपछि त्यस क्षेत्रका झण्डै ५०० घरधुरी प्रभावित भएको भन्दै आयोजनाको काम समेत अबरुद्ध पारेका थिए ।

आयोजनाको काम नै अबरुद्ध पारेपछि तत्कालीन आयोजना निर्देशक केशबराज भट्ट, आयोजना प्रमुख राजेन्द्र मानन्धर, तत्कालिन दार्चुलाका प्रमुख जिल्ला अधिकारी कपिलदेव अधिकारी तथा शीर्ष दलका प्रतिनिधिहरु तथा स्थानीयवासीको सहभागितामा मौखिक र लिखित सम्झौता भएको थियो ।

२०६७ मंसिर २९ गते भएको नौ बुदेँ सम्झौतामा उल्लेख भएका कुनै पनि कुराहरु कार्यान्वयन नभएका लटीनाथ निमावि बारिलका प्रधानाध्यापक सुरेन्द्रबहादुर तितराले बताए ।

त्यतिमात्रै होइन आयोजनाको स्थलगत भ्रमणका लागि आएका तत्कालीन प्रधानमन्त्री प्रचण्ड, उर्जामन्त्री जनार्दन शर्मा लगायतका व्यक्तिहरुलाई समेत सम्झौतपत्रको फोटोकपि दिएको प्रधानाध्यापक सुरेन्द्रबहादुर तितराले बताए ।

उक्त सम्झौता पत्रमा सुरुङका कारण पानीका मुहान सुकेका वस्तीहरुमा खानेपानीको तत्काल अल्पकालीन व्यवस्थापन गर्ने, साथै उक्त वस्तीहरुमा भएको खानेपानीको समस्यालाई दीर्घकालीन अर्थात् स्थायी रुपमा आयोजनाले समस्या समाधान गर्ने, अडिट टनेल नम्बर २ बाट पीपल चौतरा तथा अडिट टनेल नम्बर २ बाट अडिट टनेल नम्बर १ रातोपुल सम्म सडक विस्तार गर्ने सम्झौता भएको थियो ।

त्यस्तै लटिनाथ निमावि बारिलको भवन र फिल्ड निर्माणका लागि पहल गर्ने, आयोजनालाई स्थानीयवासीले आवश्यक सहयोग पुर्‍याउने लगायतका नौँ बुँदे सम्झौता भएको थियो ।

सम्झौताका बुदाँहरु कार्यान्वयन गर्न एक महिना भित्रै स्थानीय तथा आयोजनाबीचको बैठकद्वारा गर्ने सम्झौता भए पनि आयोजना प्रमुखहरु फेरिएपछि ९ बुँदे सम्झौता अन्योलमा परेको प्रधानाध्यापक तितराको भनाइ छ ।आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com