एक वर्षे छोरासँगै घर निकाला भएपछि सहयोगको आशामा महली


प्रकाशित मिति : माघ ४, २०७४ बिहीबार

–महिला खबर–

कपिलवस्तु । शिवराज नगरपालिका वडा नं. ९ अञ्चलपुरकी २६ वर्षीया महली थारु, शारीरिक र मानसिक रुपमा असक्षम छन् । उनी हिँड्डुल गर्न सक्दिनन् । नत बोलेर नै आफ्नो समस्या सुनाउन सक्छिन् । तर पनि उनको हाउभाउबाट उनले भन्न खोजेको उनको पीडा जो कोहिले पनि सहजै महसुस गर्न सक्छन् ।

महलीका १ वर्षका छोरा छन् । गाउँकै भेडवा थारुले उनलाई गर्भवती बनाएपछि गाउँलेले नै महलीको विवाह भेढवा थारुसँग गराइदिए । महलीसँगको विवाहपछि भेढवाले दोस्रो विवाह गरे । उनलाई घरबाट निकालिदिए । एकातिर शारीरिक र मानसिक अवस्था कम्जोर, अर्कोतिर काखे बालकसँगै घरबारविहीन भईन उनी ।

दुबै खुट्टा र एउटा हात चलाउन नसक्ने महली थारुको श्रीमान र घर परिवारले विभिन्न यातना र अपहेलना गरि घरबाट निकाली दिएपछि उनीसँगै एक वर्षे बालकको बिचल्ली भएको छ । सामाजिक सुरक्षा अन्तरगत उनले पाउनुपर्ने रकम पनि उनका बुबाले बुझ्दै आएको थारुका छिमेकीहरूले बताएका छन् । शिवराज नगरपालिका वडा नं ९ को अन्चलपुरमा उनका श्रीमानको घर सम्पत्ति छ । श्रीमानले नै घरबाट रिक्सामा चढाई बेबारिसे अवस्थामा बालापुरमा छाडेको स्थानीयले बताएका छन् ।

अहिले आफन्तकोमा आश्रय लिइरहेकी महलीको अवस्था देखेर उनलाई डब्लु सीपीसीले खाद्यान्न र न्यानो कपडा सहयोग गरेको छ ।

निकै दयनीय अवस्थाकी महलीलाई उनको परिवारको जिम्मा लगाउने, उनले पाउने सुरक्षा भत्ता उनलाई र उनको छोरालाई स्याहार सम्भार गर्नेलाई दिने व्यवस्था मिलाउन आफूले तत्काल वडा नं. ९ का अध्यक्ष चुर बहादुर खड्कालाई निर्देशन दिने नगर प्रमुख नेत्रराज अधिकारीले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com