आज भूकम्पीय सुरक्षा दिवस मनाइँदै


प्रकाशित मिति : माघ २, २०७४ मंगलबार

माघ २, काठमाडौं । विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।

‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा मूल समारोह समितिले आज वसन्तपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रमअघि नयाँ सडकको जुद्ध शालिक अघिबाट जनचेतनामूलक भूकम्पीय सुरक्षा पदयात्रा निकालिनेछ ।

विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो । त्यसबाट आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥यायो । अन्य १७ जिल्लामा आंशिक क्षति पुग्यो ।

यसको पुनःनिर्माणका लागि दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरिन् । राष्ट्रपतिले पुनःनिर्माणको शुभारम्भ गरेकै स्थल अहिले विवादमा छ । एक वर्षअघि बालगोपालेश्वर मन्दिरमा सिमेन्ट, छडलगायत आधुनिक निर्माण सामग्री प्रयोग गरेर सम्पदा मास्न खोजिएको भन्दै पुरातत्व विभागले पुनःनिर्माणमै रोक लगाएको थियो ।

गत पुस दोस्रो साता रानीपोखरी पुनःनिर्माणमा यही समस्या दोहोरिएपछि हाल काम रोकिएको छ । विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा बनेको अध्ययन कार्यदलले प्रतिवेदन दिएपछि मात्र काम अघि बढ्ने महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की बताउँछन् ।

दिवस मनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । जनचेतनामूलक कार्यक्रम गर्न स्थानीय तहलाई पनि प्रशासनले नै समन्वय गर्ने जनाइएको छ ।

रासस

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com