प्रदेश प्रमुख ५ दिनभित्र नियुक्त नभए राष्ट्रियसभाको निर्वाचन गर्न सकिँदैन – निर्वाचन आयोग


प्रकाशित मिति : माघ १, २०७४ सोमबार

माघ १, काठमाडौं, । निर्वाचन आयोगले ढिलोमा माघ ५ भित्र प्रदेश प्रमुख नियुक्त नभए माघ २४ मा निर्धारित राष्ट्रियसभा निर्वाचन गर्न नसकिने चेतावनी बताएको छ । यदि राष्ट्रियसभा निर्वाचन प्रभावित भएमा नया सरकार गठन अझ पछि धकेलिनेछ ।

पटकपटक आग्रह गर्दा पनि सरकारले प्रदेश प्रमुख नियुक्त नगरेपछि आयोगले माघ ५ को अन्तिम डेडलाइन दिएको हो । ‘प्रदेश प्रमुख नियुक्तिमा ढिलाई भइसकेको छ, प्रदेश प्रमुख नियुक्त भएर उनको कार्यालय स्थापना भएपछि हामीले प्रदेशसभाको नतिजा बुझाउने हो’ आयोगका एक कर्मचारीले भने ।

आयोगले माघ ७ गते राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली प्रकाशनको कार्यक्रम छ । तर, प्रदेश प्रमुख नियुक्त नहुँदा निर्वाचन आयोगले प्रदेशको समानुपातिकमा विजयीहरुको नाम सार्वजनिक गर्न सकेको छैन । किनकी प्रदेशको अन्तिम नजिता सार्वजनिक भएको ७ दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनु पर्ने संवैधानिक व्यवस्था छ ।

साथै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्न प्रदेश प्रमुखबाट प्रदेश सभा सदस्यहरुको सपथग्रहण भइसकेको हुनुपर्छ ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने चाडो प्रदेश प्रमुख नियुक्ति होस भनेर सरकारको ध्यानाकर्षण गराइसकेको हो । मतदाता नामावली प्रकाशन गर्नुपूर्व प्रदेशसभाको नतिजा प्रदेश प्रमुखलाई बुझाएर उनीहरु कानुनी रुपमा मतदाता हुनुपर्ने ढकालले बताए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com