राष्ट्रिय सभामा को–को दाबेदार ?


प्रकाशित मिति : माघ १, २०७४ सोमबार

शुरोजंग, वीरेन्द्र:५६ सिटका लागि २४ माघमा हुने निर्वाचनमा उम्मेदवार बन्न आकांक्षी सिंहदरबारदेखि नेताका घरघर धाउँदै

३८ सिट जित्ने गठबन्धनको हिसाब

राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवारीको गृहकार्य गरिरहेको वाम गठबन्धनले कम्तीमा ३८ र बढीमा ४१ सिटसम्म जित्न सकिने प्रारम्भिक आकलन गरेको छ । एमाले र माओवादीले सातवटै प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्यको मतभारका आधारमा जित्ने सिटको प्रारम्भिक आकलन गर्दै त्यसअनुसार तालमेल गर्ने गरी छलफल अघि बढाएका छन् ।

दुई पार्टीको कार्यदलको आइतबार बसेको बैठकले मतभार खेर नजाने गरी तालमेल गर्न दुवै दलले साना दलसँग समेत आन्तरिक छलफल गर्ने समझदारी गरेको छ ।

‘स्थानीय तह र प्रदेश सभाको निर्वाचन परिणाम हेर्दा दुवै दलले पाएको सिट संख्यामा फरक–फरक प्रदेशमा बेग्ला–बेग्लै ट्रेन्ड देखिन्छ,’ छलफलपछि माओवादी नेता वर्षमान पुनले भने, ‘प्रदेश १ र ३ मा एमालेको बहुमत छ, २ बाहेक अरू प्रदेशमा वाम गठबन्धनको बहुमत रहेकाले फरक–फरक मापदण्डअनुसार सिट बाँडफाँड टुंग्याउनुपर्ने देखिएको छ, त्यसैले साना दलहरूसँग समेत छलफल गरेर ३ माघमा अन्तिम टुंगो गर्ने समझदारी भएको छ ।’

कार्यदलको बैठकमा निर्वाचन आयोगको अन्तिम मत परिणामको तथ्यांकलाई आधार मानेर तयार पारिएको सिट र मत परिणाम विवरणअनुसारको मतभारको अवस्थाबारे सामान्य छलफल भएको नेताहरूको भनाइ छ । बैठकमा माओवादीबाट संयोजक रामबहादुर थापा बादलले मतभारका आधारमा सिट बाँडफाँड हुने भएकाले आवश्यक गृहकार्यपछि अर्को बैठकमा टुंग्याउन सकिने प्रस्ताव राखेका थिए ।

ठोस प्रस्तावसहित तालमेल
कार्यदलका नेताहरूका अनुसार एमालेले ३० र माओवादीले न्यूनतम आठदेखि ११ सिट जित्ने गरी तालमेल हुनेछ । यद्यपि, दुवै दलले सातवटै प्रदेशका ५६ सिटमै उम्मेदवारी दिने र त्यस अनुपातकै सिटमा तालमेल गर्ने गरी ठोस प्रस्ताव बनाउने गृहकार्य अघि बढाएका छन् ।

प्रदेश १ र ३ मा एमालेको बहुमत रहेकाले आठ सिटमध्ये दलित र अल्पसंख्यक वा अपांगता कोटामा उसैको उम्मेदवार निर्वाचित हुनेछन् । बाँकी खुला तीन र महिला तीन सदस्यमा दुई दलले तालमेल गरेर उम्मेदवार उठाउनेछन् ।

प्रदेश २ मा राजपा र संघीय समाजवादी फोरम मिल्दा चार सिट, वाम गठबन्धनले बढीमा दुई र कांग्रेसले दुई सिट जित्ने सम्भावना छ । मधेसकेन्द्रित दल गठबन्धनसँग मिलेमा भने कांग्रेसको सिट घट्ने तथा गठबन्धन र मधेसकेन्द्रित दलको सिट बढ्न सक्ने नेताहरूको भनाइ छ ।

‘निर्वाचनमा जितेको सिट संख्या र मतपरिणामका आधारमा टुंगो लगाउने प्रमुख मापदण्ड रहेकाले अबको छलफल कुन–कुन क्लस्टर (समूह) मा कसरी मिलाएर साझा उम्मेदवार उठाउनेतर्फ केन्द्रित हुनेछ,’ एमाले नेता सुरेन्द्र पाण्डेले भने, ‘३ माघमा बस्ने बैठकले अन्तिम टुंगो लगाउनेछ ।’ चार समूहमध्ये दलित, महिला, अल्पसंख्या या अपांगता र खुलामा एमाले र माओवादीले साझा उम्मेदवार उठाउने गरी छलफल केन्द्रित गरेका छन् ।

मधेसकेन्द्रित दल र सानासँग मिल्ने रणनीति
न्यूनतम ३८ सिट जित्ने निश्चित देखिए पनि थप तीन सिटमा पनि जित सुनिश्चित गर्न वाम गठबन्धनले मधेसकेन्द्रित संघीय समाजवादी फोरम र राजपा तथा राष्ट्रिय जनमोर्चा, नेमकिपा, विवेकशील साझा, नयाँ शक्ति पार्टी र स्वतन्त्र हैसियतमा जितेकासँग छलफल चलाउने भएको छ ।

कार्यदल सदस्य पुनका अनुसार प्रदेश २, ३ र ६ मा मधेसकेन्द्रित सहित साना दलसँग सहयोगका लागि छलफल चलाइने छ । प्रदेश २ मा १ सिट मात्रै सुनिश्चित रहेकाले थप एकदेखि दुई सिट सुनिश्चित गर्न राजपा र फोरमसँग छलफल गरिने उनको भनाइ छ ।

त्यस्तै, प्रदेश ३ मा नेमकिपा, विवेकशील साझा र नयाँ शक्ति, ६ मा आठवटै सिट सुनिश्चित गर्न स्वतन्त्र हैसियतमा चुनाव जितेकासँग छलफल गरिने पुनले बताए । १, ३, ४, ५ र ७ मा कम्तीमा हरेक प्रदेशमा ६ सिट जित्न सकिने वाम गठबन्धनको हिसाब छ । त्यस्तै, ६ मा पूरै र मधेसकेन्द्रित दलसँग तालमेल गरेर बढीमा तीन सिट जित्ने गठबन्धनले लक्ष्य राखेको छ ।

एमालेको बहुमत रहेकाबाहेकका प्रदेशमा बहुमतीयबाट निर्वाचित हुने दलित, अपांगता वा अल्पसंख्यक कोटामा एक–एक सिट तथा प्रदेश ५ र ७ मा एक–एक सिट खुला या महिलामा बाँडिन सक्ने सम्भावना देखिएको एक नेताले बताए ।

एमालेका आकांक्षी
प्रदेश १ : अग्नि खरेल, जगन्नाथ खतिवडा, रेवती भण्डारी, हरिशरण सिवाकोटी, कालुराम खम्बू, देवेन्द्र दाहाल, तिलकुमार मेयाङ्बो, गुरु बराल, ओम कोइराला, दीपक कार्की, उमेश डाँगी, लक्ष्मीनारायण चौधरी, मणिराज राई, कर्ण घले, अगम बान्तवा, विशेश्वरा दाहाल, टुन्जा बराइली, रामलाल शाह, गंगा डाँगी, गोपाल गुरागाईं
प्रदेश २ : सुमन प्याकुरेल, सुधीर साह, भोला घिमिरे
प्रदेश ३ : प्रदीप नेपाल, बेदुराम भुसाल, रघुजी पन्त, विष्णु रिमाल, काशीनाथ अधिकारी, आनन्दप्रसाद पोखरेल, डा. गंगालाल तुलाधर, देवशंकर पौडेल, शिवप्रसाद भण्डारी, बालकृष्ण सिवाकोटी, देवी ज्ञवाली, शान्ति अधिकारी, सावित्रा भुसाल, सुशीला नेपाल, पार्वती रावल, जगन्नाथ आचार्य, मेघनाथ पौडेल, राजेन्द्र राजथला, प्रेम पराजुली, बाबुरत्न पोडे, सीताराम मास्के, बालकृष्ण गिरी,

माओवादीका आकांक्षी
प्रदेश १ : हेमराज भण्डारी, सावित्रीकुमार काफ्ले, बाबुराम गौतम र टंक राई
प्रदेश ३ : रामबहादुर थापा बादल, अमिक शेरचन, गंगाबहादुर कार्की, देवी खड्का, कृष्णप्रसाद सापकोटा र विमला सुवेदी
प्रदेश ४ : दीनानाथ शर्मा, रामराज रेग्मी, कोमल बराल, बलावती शर्मा
प्रदेश ५ : कुवेर ओली, विष्णु चौधरी, मानबहादुर बुढा, दलजित श्रीपाइली, मेघबहादुर श्रेष्ठ, चन्द्रबहादुर खड्का, जोखबहादुर महरा, सुरेन्द्र घर्ती, सीता आचार्य
प्रदेश ६ : मंगल शाही, मायाप्रसाद शर्मा, उर्मिला विक, टीका बुढाथोकी, डा. केबी रोकाय
प्रदेश ७ : हरि चौधरी, रमा ढकाल, सहदेव बोगटी, विनिता नेपाली, पदम जोशी, कौशिल्य ओझा

पराजितलाई उम्मेदवार नबनाउन कांग्रेसमा दबाब
रमेश सापकोटा/नयाँ पत्रिका
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका नेतालाई राष्ट्रिय सभामा उम्मेदवार नबनाउन कांग्रेसभित्र दबाब बढेको छ । दुवै तहका निर्वाचनमा पराजित नाम चलेका धेरै नेताले फेरि पनि उम्मेदवारी दाबी गर्न सक्ने देखिएपछि उनीहरूलाई उम्मेदवार नबनाउन सभापति शेरबहादुर देउवामाथि दबाब बढाइएको छ ।

‘विगतमा समानुपातिकमा परेका नेतालाई यसपटक पनि राखिएकोमै धेरै विरोध छ,’ सभापति देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘पहिले पनि दोहोरिँदा असन्तुष्टि थियो । फेरि पनि उम्मेदवार भएकालाई पुनः उम्मेदवार नबनाउन केन्द्रीय समिति र बाहिरबाट दबाब आएको छ ।’

निर्वाचनमा पार्टीको नतिजा कमजोर भए पनि यसपटक नयाँलाई उम्मेदवार बनाउन दबाब परेकोे ती नेताले बताए । राष्ट्रिय सभामा ३५ वर्ष उमेर पुगेको, ख्यातिप्राप्त, देशका लागि योगदान गरेको, विषय विज्ञ व्यक्ति उम्मेदवार बन्न पाउने व्यवस्था छ ।

पौडेल र निधि इच्छुक ?
कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, अर्जुनरसिंह केसीलगायत नेताले पराजितलाई उम्मेदवार बनाउन नहुने बताउँदै आएका छन् । तर, नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधिसहितका नेताहरू भने यस विषयमा मौन छन् । उनीहरू सबै पराजित नेता हुन् ।

‘सिटौला, कोइराला र केसीले खुलेरै उम्मेदवार दोहोर्‍याउन नहुनेमा जोड दिनुभएको छ,’ अर्का एक केन्द्रीय सदस्यले भने, ‘रामचन्द्र दाइ र विमलेन्द्र दाइले विरोध नगर्नु भनेको उहाँहरू पनि राष्ट्रिय सभाका लागि इच्छुक रहेको हो कि भन्ने देखिन्छ ।’ यी दुईमध्ये पौडेल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने र निधि प्रदेश २ बाट निर्वाचन लड्न विकल्प रहेको ती नेताले बताए ।

अझै भएन छलफल
उम्मेदवार दर्ता गर्ने दिन नजिकिँदा पनि कांग्रेसले उम्मेदवार छान्ने प्रक्रिया र मापदण्डका विषयमा छलफल गरेको छैन । प्रदेश प्रमुख र शपथ गर्ने कार्यालयको टुंगो लागेपछि पार्टीले उम्मेदवार चयनबारे छलफल गर्ने केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले बताए । ‘प्रदेश प्रमुख र प्रदेश सभाको अस्थायी केन्द्रबारे प्रधानमन्त्री छलफलमा हुनुहुुन्छ,’ उनले भने, ‘एक–दुई दिनमा यसको टुंगो लागेपछि उम्मेदवारबारे छलफल गर्छौँ ।’

देखिएन उत्साह
एकल संक्रमणीय विधिमै निर्वाचन हुने भए पनि राष्ट्रिय सभाका निर्वाचित हुने ५६ सिटमध्ये कांग्रेसले बढीमा १० देखि १२ सिट जित्न सक्छ । जसमा प्रदेश १, २, ३, ४, ५ र ७ बाट प्रत्येकमा कम्तीमा दुई–दुई गरी १२ सिट जित्न सक्नेछ । प्रदेश सभा सदस्य र स्थानीय तहको निर्वाचनमा नतिजा कमजोर आएकाले कांग्रेसमा उत्साह देखिएको छैन ।

थोरै सदस्य मात्रै जित्ने भएकाले पनि यो निर्वाचनबारे उत्साह नदेखिएको हुन सक्ने कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन् । ‘एकल संक्रमणीय हुँदा पनि कांग्रेसले हरेकबाट बढीमा दुईवटा जित्ने हो । परिणाम पनि उल्लेखनीय नआउने भएकाले उत्साह नदेखिएको हुन सक्छ,’ ती नेताले भने, ‘फेरि पनि खल्तीबाटै नाम निकाल्ने तयारी हो कि भन्ने देखिन्छ ।’

प्रदेश २ मा मधेसकेन्द्रित दलसँग तालमेल
कांग्रेसले प्रदेश २ मा मधेसकेन्द्रित दलसँग तालमेल गर्नुपर्ने भएको छ । मधेसी दलहरू पनि कांग्रेससँग तालमेल गर्नैपर्ने अवस्थामा छन् । केन्द्रीय सदस्य महतले मधेसकेन्द्रित दलसँग तालमेलको प्रयास भइरहेको जानकारी दिए । अन्य प्रदेशमा भने तालमेल हुने सम्भावना कम रहेको उनको भनाइ छ ।

कांग्रेसका आकांक्षी
प्रदेश १ : केबी गुरुङ, गुरु घिमिरे, सरिता प्रसाईं, केशवकुमार बुढाथोकी, सूर्यमान गुरुङ, दीपकप्रकाश बास्कोटा, बद्रीनारायण चौधरी, दिपन श्रेष्ठ, नरेश श्रेष्ठ, विनोद बस्नेत
प्रदेश २ : कल्याण गुरुङ, रामकुमार चौधरी, मोहमद महताब आलम, शोभाकर पराजुली, अजय चौरसिया, अमिय यादव
प्रदेश ३ : मनमोहन भट्टराई, कृष्णा अमात्य, तीर्थ पसखल, बालचन्द्र शर्मा, विकास लामा, दुर्लभ थापा, ओमकारप्रसाद श्रेष्ठ, विष्णुदेवी पुडासैनी, धना खतिवडा
प्रदेश ४ : तारानाथ रानाभाट, रामचन्द्र पोखरेल, कमला पन्त, धनराज गुरुङ, सुरेन्द्र पाण्डे, तुल्सीनारायण श्रेष्ठ, खगेन्द्र रेग्मी
प्रदेश ५ : बलदेव शर्मा मजगैयाँ, योगेन्द्र चौधरी, निरञ्जन श्रेष्ठ, महेन्द्र शर्मा, कृष्ण कार्की, किरण कोइराला
प्रदेश ६ : गोविन्द मल्ल, रवीन्द्र श्रेष्ठ
प्रदेश ७ : बद्री पाण्डे, प्यारेलाल राना, शिवराज भट्ट

राजपा र फोरमका को–को आकांक्षी ?
राजपा र संघीय समाजवादी फोरमले प्रदेश २ मा तालेमल गर्दा चार सदस्य निर्वाचित गराउन सक्ने सम्भावना छ । राजपामा आकांक्षी धेरै देखिएका छन् । बृजेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ल, राजीव झा, अशोक यादव, रम्भादेवीलगायतको नाम चर्चामा छ ।

फोरम पनि उम्मेदवार छनोटमा जुटेको छ । तर, अहिलेसम्म नाम टुंगो लगाएको छैन । श्रवण अग्रवाल, हरिनारायण यादव, सीमा सिंह, उर्मिला साह, कृष्णकुमार सिंहलगायतका नेता आकांक्षी छन् ।

उम्मेदवारका आकांक्षी दौडधुपमा व्यस्त
राष्ट्रिय सभा सदस्यको उम्मेदवारका आकांक्षीले टिकट हात पार्न दौडधुप बढाएका छन् । सिंहदरबारदेखि नेताका निजी निवाससम्ममा आकांक्षीको भिड लाग्न थालेको छ । प्रतिनिधिसभा र प्रदेश सभामा टिकट नपाएका पूर्वसांसद पनि यो दौडमा छन् ।

‘अहिल्यै नेताको ढोकादेखि कार्यालयसम्म चहार्दै फलानो भनेर नलेखिदिनुहोला । मलाई प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अन्याय गर्‍यो । राष्ट्रिय सभामा समेत नेताहरूले बिर्सिने हुन् कि भनेर झकझकाउन लागेको हो,’ सिंहदरबारमा भेटिएका एक पूर्वसांसदले भने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com