राष्ट्रिय सभा चुनाव सर्न सक्ने चेतावनी


प्रकाशित मिति : माघ १, २०७४ सोमबार

प्रदेश प्रमुख नियुक्तिमा थप ढिलाइ भए माघ २४ गतेका लागि निर्धारित राष्ट्रिय सभाको चुनाव सार्नुपर्ने अवस्था आउन सक्ने निर्वाचन आयोगका प्रवक्ताले बताएका छन्।

प्रदेश प्रमुखले शपथ दिलाएपछि मात्रै प्रदेश सभाका सदस्यहरू राष्ट्रिय सभाको चुनावका लागि मतदाता बन्न पाउने कानूनी प्रावधान छ।

राष्ट्रिय सभा निर्वाचनका लागि माघ ७ गते मतदाता नामावली प्रकाशित गर्ने तालिका बनाइसकेको आयोगले प्रदेश प्रमुख नियुक्त नहुँदा प्रदेश सभामा चुनिएका समानुपातिक सांसदको परिणाम बुझाउन पाएको छैन।

राष्ट्रिय सभा निर्वाचनका २,०५६ मतदातामा प्रदेश सभाको समानुपातिक र प्रत्यक्ष गरी ५ सय ५० जना छन्।

राष्ट्रिय सभा निर्वाचन: प्रचार गर्न सात दिन

‘प्रदेश प्रमुख नहुँदा नतिजा रोकियो’

हैसियत
र, प्रदेश प्रमुखले शपथ खुवाएपछि मात्र उनीहरूले कानूनी हैसियत पाउने प्रावधान छ।

आयोग अधिकारीहरूका अनुसार प्रदेश प्रमुख नियुक्ति, उनको आफ्नै शपथ ग्रहण र पद सम्हालेर प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण गराउने जस्ता काम कम्तीमा माघ ४ गतेभित्र हुन जरूरी छ।

आयोगका प्रवक्ता नवराज ढकालले भने, “माघ ७ गते आयोगले मतदाता नामावली प्रकाशित गर्न सकिएन भने राष्ट्रिय सभा निर्वाचन प्रभावित हुनेछ। त्यसैले छिटोभन्दा छिटो प्रदेश प्रमुख नियुक्ति हुन जरुरी छ।”

आयोगको दबाब तथा प्रदेश प्रमुखको आवश्यकताबारे राष्ट्रपतिको चासो देखाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने भनिएको मन्त्रिपरिषद्को बैठक पटक-पटक सार्दै आएका छन्।

आइतवार एक सार्वजनिक कार्यक्रममा बोल्दै देउवाले प्रमुख दलहरूसँगको छलफलपछि प्रदेश प्रमुखबारे निर्णय गर्ने बताएका थिए।

हेरफेर
कतिपयले राष्ट्रिय सभा कार्यतालिकालाई छोट्याएर माघ २४ गतेको निर्धारित समयमा नै गर्न सकिने बताए पनि तालिका भने हेरफेर गर्न नमिल्ने आयोगले जनाएको छ।

त्यसबारे प्रवक्ता ढकाल भन्छन्, “नामावली सार्वजनिक गर्ने दावी विरोध गर्ने लगायतका सम्पूर्ण निर्वाचन तालिका कानूनी रुपमा नै व्यवस्थित भएका हुन्छन्। कार्यतालिकामा थप समय राखिएको छैन। आवश्यक समय मात्र राखिएको छ।”

स्थानीय तहका प्रमुख तथा उप-प्रमुख गरी १,५०६ जना राष्ट्रिय सभाका बाँकी मतदाता हुन्।

सरकारले ढिलासुस्ती गरिरहे पनि राष्ट्रिय सभामा दर्ता भएका २७ वटा राजनीतिक दलले निर्वाचनको आन्तरिक तयारी गरिरहेको देखिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com