सिरिया: पूर्वी गुटामा क्लोरिन ग्यास हमला


प्रकाशित मिति : पुस ३०, २०७४ आईतबार

खबरहरूका अनुसार सिरियाको राजधानी दमासकसको बाहिरी इलाकास्थित घेराबन्दीमा रहेको विद्रोही नियन्त्रित क्षेत्रमा क्लोरिन ग्यास हमला गरिएको छ।

दैनिक बमबारी हुने गरेको पूर्वी गुटा क्षेत्रमा क्षेप्यास्त्र आक्रमणपछि क्लोरिन ग्यासको गन्ध आएको खबर बीबीसीलाई थाहा भएको छ।

स्वास्थ्यकर्मीले ६ जनालाई श्वासप्रश्वाससम्बन्धी सामान्य समस्या भएपछि उपचार गरिएको बताएका छन्।

करिब ४ लाख स्थानीयबासिन्दा रहेको उक्त क्षेत्र सन् २०१३ यता रूसको समर्थन पाएको सरकारी फौजको घेराबन्दीमा रहिआएको छ।

अस्वीकार

सिरियामा गृहयुद्ध शुरु भएयता क्लोरिन ग्यास हमला भएको थुप्रै खबरहरू आएका छन्।

तर सरकारले भने आफूले त्यस्तो कुनै रासायनिक ग्यास प्रयोग गरेको भन्ने विषय अस्वीकार गरेको छ।

ज्यानुअरी १० मा संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी उच्चायुक्तको कार्यालयले हवाई र स्थल आक्रमणले पूर्वी गुटामा डिसेम्बर ३१ यता कम्तीमा ८५ जना सर्वसाधारणको ज्यान गएको बताएको छ।

सिरिया

महत्वपूर्ण

पूर्वी गुटामा रहेका विद्रोहीहरूले दमासकस नजिकका आवासीय क्षेत्रमा रकेट प्रहार गर्न सक्ने भएकोले पनि उक्त क्षेत्र रणनीतिक हिसाबले पनि महत्त्वपूर्ण छ।

त्यसको कारणले सर्वसाधारणको पनि हत्या भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

गत साता १० दिनको समयमा सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा कम्तीमा १० वटा अस्पतालहरूमा हवाई हमलाहरू भएको सहायताकर्मीहरूले बताएका छन्।

उपचार गर्ने परोपकारी संस्थाका एक सल्लाहकारले यो वर्ष हमलाहरू निकै आक्रामक भएको बीबीसीलाई बताएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com