शनिबारदेखि नारायणगढ मुग्लिन सडकखण्ड चार दिनका लागि खुला


प्रकाशित मिति : पुस २९, २०७४ शनिबार

पुस २९ । चितवन । नारायणगढ मुग्लिन सडकखण्ड शनिबारदेखि चार दिन बन्द नहुने भएको छ। रातको समयमा ६ घण्टा गाडी रोकेर सडक चौडापार्ने काम चलिरहेको उक्त सडकखण्ड शनिबारदेखि ४ दिन खुला रहने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ। थारूको माघी पर्व सुरु भएको र माघे संक्रान्तिमा चितवनको देवघाटमा लाग्ने मेला भर्न देशैभरीबाट भक्तजन आउने भएकाले चार दिनलाई सडक खुला गरिएको हो। प्रहरीले शनिबार सार्वजनिक सूचना जारी गरी सो जानकारी दिएको हो। यसअघि यही पुस १८ गतेदेखि राति १० बजेदेखि ४ बजेसम्म आवागमन बन्द गरेर भित्तो काट्ने काम भैरहेको थियो।

चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक सन्तोष पन्तका अनुसार शनिबारदेखि माघ २ गतेसम्म सडक खुला रहनेछ। पन्तले उक्त सडक खण्डमा यात्रा गर्दा ओभरटेक नगरी धैर्यताकासाथ एक लाईनमा यात्रा गर्न समेत सबैमा अनुरोध गरे। शनिबारदेखि यहाँ सडकमा करिव ३० प्रतिशत सवारी चाप बढेको उनले जानकारी दिए। जसका कारण शनिबार दिनभर नै यातायात प्रभावित भएको थियो। जोखिम कम भए पनि सवारीको चाप बढ्दा प्रहरीलाई यातायात व्यवस्थापनमा मुस्किल परिरहेको छ। गाडी विग्रने, ओभरटेक गर्ने र निर्माण कर्याले कतैकतै एकतर्फी सडक चल्दा जाम बढ्ने गरेको छ। आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकमा अहिलेसम्म ७० प्रतिशत मात्रै काम पूरा भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com