आज मन्त्रीपरिषद् बैठक बस्दै


प्रकाशित मिति : पुस २८, २०७४ शुक्रबार

 

पुस २८, काठमाडौ । आज मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । बिहान नौ बजेपछि बस्ने बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्न गृहकार्य गरेको छ । कर्मचारीको स्वेच्छिक अवकाश प्रक्रियाको थालनी गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‍मा पुगेको छ।

शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले सामान्य प्रशासन मन्त्रालयबाट पेस भएको कर्मचारीको स्वेच्छिक अवकाशसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेपछि स्वेच्छिक अवकाशसम्बन्धी प्रक्रिया सुरु हुने मन्त्रालयले जनाएको छ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले स्वेच्छिक अवकाशसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत हुनासाथ शुक्रबार नै राजपत्रमा सूचना प्रकाशन गरी कार्यान्वयन गर्ने तयारी गरिएको जानकारी दिए। कर्मचारी समायोजन ऐनअनुसार ऐन जारी भएको तीन महिनाभित्र स्वेच्छिक अवकाशका लागि सूचना जारी गर्नुपर्ने प्रावधान छ। समायोजन ऐन गत २९ असोजमा जारी भएको थियो। सोहीअनुसार सामान्य प्रशासन मन्त्रालयले शुक्रबार नै राजपत्रमार्फत सूचना जारी गरी स्वेच्छिक अवकाशको प्रक्रिया थाल्ने गृहकार्य अघि बढाएको हो।

मन्त्रालयले स्वेच्छिक अवकाशका लागि आवेदन दिने सयम ४५ दिन प्रस्ताव गरेको छ। सामान्यको सो प्रस्तावअनुसार राजपत्रमा सूचना जारी भएको ४५ दिनभित्र स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीले आवेदन दिइसक्नुपर्नेछ। सामान्य प्रशासन मन्त्रालयले समायोजन ऐनअनुसार स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीका लागि विभिन्न सर्त तथा सुविधा तयार पारेको छ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार ऐनअनुसार ५० वर्ष पुगेका र २० वर्ष सेवा गरिसकेका कर्मचारीहरू स्वेच्छिक अवकाश कार्यक्रममा सहभागी हुन सक्नेछन्। ऐनबमोजिक संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने ५० वर्ष उमेर पुगेका र निवृत्तिभरण पाउने बमोजिम स्वेच्छिक अवकाश लिने कर्मचारीमध्ये नेपाल स्वास्थ्य र व्यवस्थापिका संसद् सेवाका कर्मचारी र २०४९ साल कात्तिक २१ भन्दाअघि निजामती सेवामा प्रवेश गर्ने कर्मचारीको हकमा ६० वर्ष उमेर नलाग्ने गरी र सोभन्दा पछि निजामती सेवामा प्रवेश गर्नेहरूको हकमा ५८ वर्ष उमेर नलाग्ने गरी सेवाअवधि थप गरी स्वेच्छिक अवकाश दिइने कानुनी व्यवस्था छ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार ऐनअनुसार स्वेच्छिक अवकाश लिन योग्य कर्मचारीको संख्या झन्डै २२ हजार छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com