पानीपुरी र चटपटेमा स्वास्थ्यका लागि हानिकारक पदार्थ मिसावट


प्रकाशित मिति : पुस २६, २०७४ बुधबार

पुस २६, काठमाडौं । युवा जमातले अत्याधिक मन पराउने चोकचोक र टोलटोलमा बिक्री हुने मसालेदार पानीपुरी र चटपटेमा स्वास्थ्यका लागि हानिकारक मोबिलजस्तो देखिने पदार्थ प्रयोग गरिएको पाइएको छ । आपूर्ति विभागले मंगलबार गरेको अनुगमनको क्रममा यस्तो तथ्य भेटिएको हो ।

विभागका अनुगमन अधिकृत दिपकराज पोखरेलले पानीपुरी र चटपटेमा खानेतेलको नाममा मानव स्वास्थ्यलाई हानि गर्ने गरी मोबिलजस्तो देखिने कालो पदार्थको प्रयोग भइरहेको फेला परेको जानकारी दिए । चाबहिलनजिकैको भत्केको पुलस्थित राजेश चौरसियाले सञ्चालन गरेको कबाडी पसलबाट आपूर्ति विभागको अनुगमन टोलीले यस्तै प्रकारका कालो पदार्थ बरामद गरेको छ । ‘मोबिलजस्तै च्यापच्याप लाग्ने कालो पदार्थ ठूलो परिमाणमा बरामद गरेका छौं’, पोखरेलले भने,‘स्वास्थ्यमाथि खेलवाड गरेको र ठगी गरेको अभियोगमा थप कारबाही गर्न दुई जना खरिदकर्ता र एक जना बिक्रीकर्तालाई पक्राउ गरी गौशाला प्रहरीलाई जिम्मा लगाएका छौं ।’

उनका अनुसार सुराकीका आधारमा विभागको टोलीले कवाडी पसलमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा १० र १५ लिटरको जर्किनमा खानेतेलको नाममा मोबिलजस्तो पदार्थ भरेर राखिएका थिए । खरिद गर्न आएका ग्राहकले उक्त पदार्थ पानीपुरी र चटपटेमा प्रयोग गर्ने गरेको वयानको क्रममा विभागलाई बताएका छन् । १५ लिटरको एक जर्किन उक्त पदार्थ बिक्रेताले तीन सय रुपैयाँमा बिक्री गरेको विभागले जनाएको छ ।

‘कबाडीमा सामान खरिद गरे जस्तै साइकलमा राखेर उक्त कालोपदार्थ बिक्री गर्ने उनीहरूले बयानमा बताएका छन्’, पोखरेलले भने,‘मानव स्वास्थ्यमाथि खेलवाड गरी यस्ता अखाद्य पदार्थ आयात गरी बिक्रीवितरण भइरहेको छ ।’ पक्राउ परेका बिक्रेताले भारतबाट आयात गरी बिक्री गर्दै आएको बयानका क्रममा बताएका छन् । कवाडी पसलबाट म्याद नाघेका र अखाद्य जस्तो देखिने विभिन्न ब्रान्डका खानेतेलका खाली पोका पनि बरामद गरिएको छ

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com