अछाममा छाउपडी गोठमा एक महिलाको मृत्यु


प्रकाशित मिति : पुस २४, २०७४ सोमबार

पुस २४, अछाम । अछाममा छाउपडी गोठमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नं ३ भैरवस्थानकी २२ वर्षीया गौरी बुढाको मृत्यु भएको हो ।

आइतबार राति महिनावारी भएको बेला घरदेखि टाढा छाउपडी गोठमा सुत्न गएकी बुढा मृत अवस्थामा भेटिएको परिवारले जनाएको छ ।

छाउपडी गोठमा एक्लै सुतिरहेको अवस्थामा बुढाको मृत्यु भएको हो । मृतक बुढा तुर्माखाँदस्थित कालिकेश्वरी माविमा कक्षा ११ मा अध्ययनरत रहेको जनाइएको छ । बेलुकीपख खाना खाएर सुतेकी गौरी बिहान अबेरसम्म नउठेको र ढोका फोरेर हेर्दा मृतावस्थामा भेटिएको मृतकका ससुरा डम्बरबहादुर बुढाले बताए ।

मृत्यु हुनु अघिल्लो दिनभर मेलामा खर काटेको र उनी बिरामी नभएको बताइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com