बाक्लो हुस्सुका कारण अनुमानका भरमा गाडी कुदाउँदै चालक ,दुर्घटना स्ंख्या बड्दै


प्रकाशित मिति : पुस २४, २०७४ सोमबार

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका ५ बाँसबारीमा भएको सवारी दुर्घटनामा आइतबार साँझ मोटरसाइकल चालकको मृत्यु भयो। पूर्वतर्फ जाँदै गरेको ना ३ ख ६०५८ नम्बरको ट्रकमा पछाडिबाट आउँदै गरेको को १६ प ७७१५ नम्बरको मोटरसाइकल ठोक्किंदा चालक सुन्दरहरैंचा ११ का २६ वर्षीय कृष्ण राईको मृत्यु भएको हो।

दुर्घटनामा परेर घाइते भएका उनको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाक्लो हुस्सु लागिरहेका बेला अगाडि गुडिरहेको सवारी साधन नदेखेका कारण मोटरसाइकल ट्रकमा ठोक्किन पुग्दा दुर्घटना भएको हो।

सुनसरीको रामधुनी नगरपालिका २ स्थित कृषि फर्म नजिकै को २२ प ७६२० नम्बरको मोटरसाइकलले शनिबार साँझ ठेलालाई ठक्कर दियो। दुर्घटनामा ठेला चालक रामधुनी २ का ७० वर्षीय तेतर सिंहसहित तीनजना घाइते भए। इलाका प्रहरी कार्यालय पकलीका अनुसार साँझका समयमा लागेको बाक्लो हुस्सुका कारण अगाडि गुडिरहेको ठेला नदेख्दा मोटरसाइकल ठोक्किन पुगेको हो।

मोरङको सुन्दरहरैंचा र सुनसरीको रामधुनीमा मात्रै हैन एक सातादेखि लागिरहेको बाक्लो हुस्सुका कारण पूर्वी तराईका सडक र राजमार्गमा सवारी दुर्घटना बढिरहेको छ। सातायता भएका दुई दर्जन सवारी दुर्घटनाको मुख्य कारण बाक्लो हुस्सु नै रहेको निस्कर्ष ट्राफिक प्रहरीले निकालेको छ। ट्राफिक प्रहरीका अनुसार लगातारको हुस्सुले नजिकैको दृष्य पनि चालकले राम्ररी ठम्याउन नसक्दा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना हुन थालेको हो।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले हुस्सुका कारण सडकको ‘भिजिविलिटी डिस्टेन्स क्लियर’ नहुँदा दैनिक जसो सवारी दुर्घटना हुने क्रम बढेर गएको जनाएको छ।बाक्लो हुस्सुका बाबजुत विराटनगरबाट देवीलक्ष्मी ट्राभल्सको को १ ख ४९०९ नम्बरको बसमा यात्रु लिएर धरान हिंडेका चालक निर्मल मगर सोमबार बिहान विराटनगरको बरगाछीमा भेटिए। भने, ‘यस्तो हुस्सु लागेको छ। धरान पुगेर फर्कन निक्कै मुस्किल छ।’

मगरले हुस्सुका कारण २५ मिटर अगाडि पनि राम्ररी ठम्याउन नसक्दा बस कुदाउन समस्या हुने गरेको बताए। ‘बस आफ्नै हिसाबले अघि बढिरहेको हुन्छ। अगाडि कुन सवारी साधन आइरहेको छ भन्ने कुरा थाहै नै हुँदैन,’ उनी भन्छन्, ‘अन्य सवारी साधनसँंग ठोक्किएर दुर्घटना हुन्छ की भन्ने डर छ।’

विराटनगरबाटै कान्तिपुर यातायातको ग १ ख ६५२९ नम्बरको बस लिएर काँकडभित्ता हिंडेका चालक रमेश ठकुरी पनि उही समस्या बताए। ‘हुस्सुले बाटो नै देखिंदैन,’ उनले भने, ‘अनुमानका भरमा गाडी कुदाउनुपर्छ।’ उनले हुस्सुका कारण सडकको साइड छुट्याउन पनि गाह्रो पर्ने गरेको बताए। भने, ‘गाडी सही साइडमा कुदेको छ की छैन भन्ने कुरा छुट्याउन मुस्किल पर्छ।

साइडमा र अगाडि पछाडि कुनै सवारी साधन आएको पनि पत्तो पाइँदैन।’ अन्दाजका भरमा गाडी कुदाउँदा दुर्घटनाको जोखिम बढेर गएको ठकुरीले बताए। सडकमा लेन नछुट्याएका कारण पनि चालकले धेरै समस्या बेहोर्नु परेको उनको गुनासो छ। ‘राजमार्गका सडकमा लेन छुट्याउने काम भइदिएको भए त्यसैलाई आधार मानेर हुस्सु लागेका समयमा पनि गाडी कुदाउन सकिने थियो,’ ठकुरीले भने, ‘लेन नहुँदा सडकको बीचबाट गाडी कुदाउनु पर्ने बाध्यताका कारण अन्य सवारी साधनसंग ठोक्किएर दुर्घटना हुने सम्भावना बढी हुन्छ।’ सडकको छेउबाट गाडी कुदाउँदा हुस्सुले बाटो ‘क्लियर’ नहुने भएका कारण पल्टिएर पनि दुर्घटना हुने सम्भावना रहने उनले बताए।

पूर्व नेपाल यातायात व्यवसायी संघ विराटनगरका शाखा प्रमुख किशोर धमलाले हुस्सुसंगै बढेको चिसोका कारण सडकमा सवारी साधन अत्यन्तै कम गुडिरहेको बताए। ‘विहान ९ बजे अगाडि त गाडी चढ्ने यात्रु नै हुँदैनन्,’ उनले भने, ‘दिउँसो पनि हुस्सुले चाकललाई गाडी कुदाउन समस्या पारिरहेको हुन्छ।’ दायाँ वायाँको लेन भएको भए चालकलाई सडकको भाग थाहा हुने बताउँदै धमला भन्छन्, ‘लेन नहुँदा चालकले गाडी कुन अवस्था र कुन साईडमा चलिरहेको छ भन्ने कुराको भेउ नै पाउँदैनन्।’

सडकमा लेन नभएका कारण हुस्सु लागेका बेला ‘फक्स लाइट’ बालेर गाडी कुदाउनु पर्दा विपरित दिशाबाट आउने गाडीले त्यसैलाई आधार मानेर कुद्नु पर्ने उनले बताए। बीच बाटोमा केही कारणले गाडी विग्रिएमा अन्य सवारी साधन आएर ठोक्किएर दुर्घटना हुने सम्भावना बढी रहने उनको भनाइ छ। हुस्सुले अगाडिकै सडक नदेखिंदा र चौपाय एवं पैदलयात्रीले जथाभावि बाटो काटिदिंदा पनि दुर्घटना हुने गरेको धमलाको भनाइ छ। ‘दुर्घटनाको अर्को कारक ठाउँ ठाउँका सडकमा लाग्ने साप्ताहिक हटिया पनि हो,’ उनले भने।

विराटनगरबाट छोटो तथा लामो दूरीमा सिरहा, सप्तरी, काँकडभित्ता, धरान, इनरुवा, इलाम, ताप्लेजुङ, भद्रपुर, लेटाङ, मधुमल्ला, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, काठमाडौं, धनगढी, नेपालगन्ज, दाङ, तुलसीपुर, बुटवल, भैरहवा, पोखरा, नारायणगढ, हेटौंडा, विरगन्ज, जनकपुर लगायतका स्थानमा दैनिक चार सय ५० बढी गाडी छुट्ने गरेका छन्।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले हुस्सुले सवारी साधन संचालनमा समस्या निम्त्याउँदा दुर्घटना बढेर गएको बताए। ‘हुस्सुले सवारी साधनका ऐना र सिसामा ‘भिजिविलिटी’ समस्या निम्त्याएको छ,’ उनले भने, ‘राम्रोसंग अगाडि र पछाडि नदेखिंदा चालकले जोखिम मोलेर गाडी कुदाइरहेका हुन्छन्।’ जाडोका बेलामा झ्याल ढोका बन्द गरेर सवारी साधन संचालन गर्नु पर्ने बाध्यताका कारण ‘साउण्ड लेस’ भएर पनि दुर्घटना हुने गरेको कटवालले बताए।

हुस्सुले ढपक्कै ढाक्दा चालकले सडकमा अलि पर सम्म देख्न सक्ने अवस्था पनि नरहने र झ्याल ढोका बन्द गरिंदा अन्य सवारी साधनले साईड माग्दा पनि थाहा नपाउने भएका कारण दुर्घटनाको जोखिम बढी हुने उनले बताए। हुस्सुले दुर्घटना बढ्न थालेपछि नियन्त्रित गतिमा होस गरेर मात्रै सवारी चलाउनका लागि नेपाल र ट्राफिक प्रहरीले राजमार्गमा संयुक्त रुपमा चेकिङ खडा गरेर चालकलाई सचेत गराउन थालेको जानकारी कटुवालले दिए।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले एउटा सवारी साधनले छेउमै आइसकेपछि मात्रै अर्को सवारी साधन देख्ने भएका कारण नियन्त्रण गर्न कठिन भएर एकआपसमा ठोक्किएर पनि दुर्घटना भइरहेको बताए। तीव्र गतिमा चलाइएका सवारी साधन ‘भिजिविलिटी’ नभएका कारण घुम्ति र मोडमा नियन्त्रण गर्न कठिन हुँदा सडक दुर्घटना हुने गरेकाे बताए ।

‘भिजिविलिटी’ समस्याले सवारी साधनले निश्चित दूरी ‘मेन्टेन’ गरेको हुन्छ,’ लम्साल भन्छन्, ‘त्यो अवस्थामा अर्को सवारीसँग ठोक्किने, सडकबाट तल खस्ने र पैदल यात्री एवं अन्य वस्तुलाई ठक्कर दिने क्रम पनि बढ्दो छ।’ उनले हुस्सु लागेका बेला सवारी चलाउँदा चालकले सावधानी अपनाउनुको विकल्प नरहने बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com