हिमाल पारीको जिल्ला मनाङको तापक्रम माइनस १६ मा झर्यो, खोलामा पानी होइन बरफ


प्रकाशित मिति : पुस २४, २०७४ सोमबार

 

पुस २४,  मनाङ । देशभरि नै चिसो बढेकाबेला हिमाल पारीको जिल्ला भनेर चिनिने मनाङमा तापक्रम माइनस १६ डिग्री सेल्सियस पुगेको छ। मनाङमा झन् धेरै चिसो भएको हो।

राति परेको शीत जमिनमा बरफ बन्न थालेको छ। मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन्। पिउने पानीका मुहान जमेका छन्। खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ।

अत्यधिक चिसो बढेपछि मनाङका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन्। सबैजसो नागरिक ढोका लगाएर घरभित्रै बस्ने गरेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए।

बाह्रै महिना चिसो हुने मनाङ जिल्लामा जाडोको समयमा प्रायः बासिन्दा जाडो छल्न अन्यत्र जाने गर्छन्। यो समयमा गाउँ घरमा घर कुर्ने, चौँरी हेर्ने र हिउँ फाल्ने बासिन्दा मात्र बस्ने गर्दछन्।

जाडो छल्नका लागि मनाङवासी काठमाडौं पोखरा, चितवनलगायत भारतको बुद्धगया जाने गरेका छन्। गाउँघरको सबै कामकाज सकेर धुपी, जुम्भु, पाँचऔँलेलगायतका जडीबुटी बिक्रीका लागि उनीहरु बाहिर जाने गरेका छन्।

मंसिरको अन्तिम साताबाट मनाङ सुनसान हुने भएकाले अक्सर गरेर माथिल्लो मनाङका विद्यालय वर्षैपिच्छे जाडोको मौसममा तीन महिना बन्द हुने गरेको जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले बताए । रासस

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com