शीतलहरका कारण सप्तरीमा १४ जनाको मृत्यु


प्रकाशित मिति : पुस २३, २०७४ आईतबार

अत्यधिक बढेको चिसोले सप्तरीमा आइतबार दुई जनासहित हालसम्म १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, आइतबार कञ्चनरुप नगरपालिका ७ का ६१ वर्षीय उत्तम मरिक डोम र वडा नम्बर २ बरमझियाका ५५ वर्षीय बेचन शेखको चिसोका कारण मृत्यु भएको हो ।

यसैगरी शनिबार पनि एक काखे बालकसहित पाँच जनाको मृत्यु भएको थियो । शीतलहरबाट प्रभावित भई निमोनिया लागेका कञ्चनरुप नगरपालिका ४ जगतपुर निवासी ललित चौधरीका ७ महिने छोरा गणेशलाई उपचारका लागि बिराटनगर लग्ने क्रममा शनिबार बाटोमै मृत्यु भएको परिवारले जनाएको छ ।

शनिवार मृत्यु हुनेमा खडग नगरपालिका ८ मुसहरनियाँका ६० वर्षीय मुसहरु चौधरी, डाँकनेश्वरी नगरपालिका ८ का ५५ वर्षीया झौली यादव, अग्निसाइर कृष्णासवरन गाउँपालिका ४ का ६० वर्षीय लखन ठाकुर र तिलाठी कोईलाडी गाउँपालिका ७ का ३५ वर्षीय शिबु मण्डल छन् ।

यसअघि गत विहीबार र शुक्रबार मात्रै चार जनाको मृत्यु भएको थियोे । प्रहरीका अनुसार, महदेवा गाउँपालिका २ अकबरपुरका ५८ वर्षीय सुकदेव यादवको शुक्रवार बिहान घर नजिकैको नहर किनारमा शौच गर्ने क्रममा कठ्याग्रिंएर मृत्यु भएको थियो ।

विहीबार राजविराज नगरपालिका १० झल्हीकी ६५ वर्षीया कैलीदेवी खंग र राजविराज नगरपालिका २ की ६० वर्षिया नाजो बेगमको शितलहरकै कारण मृत्यु भएको वडा अध्यक्ष अरुण यादवले जानकारी दिए । शुक्रवार नै तिलाठी कोइलाडी गाउँपालिका २ का ५५ वर्षीय सुजन ठाकुरको पनि चिसोकै कारण कठ्याग्रिएर घरमै मृत्यु भएको थियो ।

यस्तै छिन्नमस्ता गाउँपालिका १ बिरपुरका ३५ वर्षीय रामदयाल राम, ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको पनि चिसो कै कारण मृत्यु भएको थियो । तर, सप्तरीका प्रहरी नायब उपरिक्षक ध्रुव भट्टराईले हालसम्म शितलहरबाट तीन जनाको मात्रै मृत्यु भएको बताए । उनले चिसोका कारण मृत्यु भएको खबर आएपनि पोष्टमार्टम गराएकाहरूकाे मात्रै रेकर्ड रहने बताए ।

उनले शीतलहरबाट मृत्यु भएको अवस्थामा अस्पताल लगेर पोष्टमार्टम गराए मात्रै सरकारी रेकर्डमा उल्लेख हुने नियम रहेको बताए । धेरैले चिसोका कारण मृत्यु भएकोहरुको पोष्टमार्टममा नलागी स्थानीय तहमा खबर गरेर अन्त्येष्टी गर्दै आएको बताए ।

सप्तरीको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जिल्लाको विभिन्न चौकहरुमा आगो ताप्न दाउरा र गरिब विपन्न बस्तीहरुमा उपलब्ध भए बमोजिमको सात हजार कम्बल वितरण गरेको र अरु वितरण गर्ने तयारीमा रहेको जानकारी दिए ।

अंग्रेजी नयाँ वर्ष २०१८ को सुरुवातसँगै एक्कासी बढेको शीतलहरले मधेसका जिल्लाहरुको जनजीवन अस्तब्यस्त बनेको छ । पछिल्लो ६ दिनदेखि सप्तरीवासीले राम्ररी घाम हेर्न पाएको छैन। बिहानेदेखि लाग्ने बाक्लो कुहेसा (हुस्सु)ले सर्वसाधारणलाई घरबाट बाहिर निस्कन समेत कठिनाई भईरहेको छ ।

विद्यालय बन्दै

लगातार शीतलहर बढ्न थालेपछि विहीबारदेखि जिल्लामा सबै सामुदायिक विद्यालय बन्द गरिएको छ । आइतबारदेखि विद्यालय खोल्ने भनिएपनि मौसम थप खराब हुन थालेपछि थप चार दिनकालागि जिल्लाका सबै ४ सय १२ वटै सामुदायिक विद्यालय बन्द गरेको शिक्षा अधिकारी डोलराज पाण्डेले जानकारी दिए ।

यसैबीच आइतबारदेखि प्याब्सन अन्तर्गत सप्तरीका सबै निजी विद्यालय पनि तीन दिनका लागि बन्द गरिएको जिल्ला अध्यक्ष पञ्चदेव यादवले जानकारी दिए । तर, एन प्याब्सन अन्तर्गतका केही विद्यालय बढ्दो शीतलहरमा पनि परीक्षा लिने काम जारी राखेका छन् ।

जिल्लाका अभिभावकहरुले शितलहरमा तत्काल केही दिनका लागि विद्यालय बन्द गर्न आग्रह गरेपनि परीक्षा सार्न नमिल्ने भन्दै एन प्याब्सन अन्तर्गतका विद्यालयहरु बन्द नगरेको एक अभिभावकले बताए ।

बिरामीको चाप बढ्दै

अत्यधिक शीतलहरले सप्तरीका एक मात्र सरकारी अस्पताल सगरमाथा अञ्चल अस्पतालमा बिरामीको संख्यामा वृद्धि भईरहेको छ । बिरामीको चाप बढेपछि कतिपय बिरामीलाई भूईँमा राखेर समेत उपचार थालिएको छ ।

यता अस्पतालमा भर्ना हुने आउनेहरुमा बढी बालबालिका र वृद्धवृद्धा रहेको अस्पतालस्थित आकस्मिक कक्षले जनाएको छ । बालबालिकाहरुमा कोल्ड डाईरिया, फिभर, निमोनिया जस्ता रोगको लक्षणहरु देखा परेको अस्पताल प्रमुख डा. दयाशंकरलाल कर्णले जानकारी दिए ।

यसैगरी जिल्लाका पुर्वी भेगका विरामीहरु समेत ठण्डीबाट प्रभावित भई रहेको छ । कोसी नदिको किनारामा रहेका भारदह, योगिनियाँ, हनुमाननगर, वैरवा सहितका दर्जनौ साविकका गाविसका बासिन्दाहरुलाई घरायसी कामकाज गर्न समेत कठिनाई भोग्नुपरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com