बसको ढोका खोल्न भन्दा हत्या,हत्यापछी छोरीलाई जानकारी दिन गए आरोपी


प्रकाशित मिति : पुस २३, २०७४ आईतबार

जनकपुरमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गएको शुक्रबार राति जनकपुरको रमानन्दचोकमा महोत्तरीको लोहारपट्टी नगरपालिका ९ की ५२ वर्षकी रतिया देवीको हत्या गरेको आरोपमा प्रहरीले सिन्धुली घर भई हाल जनकपुरमा अटो रिक्सा चलाएर फुटपाथमा बस्दै आएका २५ वर्षका गणेशकुमार खड्कालाई पक्राउ गरेको हो ।

महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जमुना यादवकी श्रीमती रतियाको शव शंकास्पद अवस्थामा शनिबार बिहान जनकपुरको रामानन्द चोकमा रोकेर राखिएको ना ४ ख ७८७४ नम्बरको बसको तल भेटिएको थियो ।

रतियादेवी आफ्नी छोरी र ज्वाईँसँग बसेर जनकपुरको रमानन्द चोकमा तरकारी बेच्ने गरेकी थिइन् । उनको शव फेला परेकै स्थानमा सानो तरकारी बजार लाग्ने गरेको छ । जहाँ रतियाले तरकारी बेच्ने गरेकी थिइन् । गणेशले पनि अटो रिक्सा र कुल्लीको काम गरेर त्यसै ठाउँको फुटपाथमा रात गुजार्ने हुँदा दुवै जनाको चिनजान थियो । रतियाको मृत्यु भएको हो भनेर गणेशले उनकी छारी रिना यादवलाई शुक्रबार बिहान ५ बजे डेरामा पुगेर जानकारी दिएका थिए । त्यसपछि प्रहरीले शंकाको अधारमा गणेशलाई सोधपुछका लागि पक्राउ गरेको थियो ।

यसरी भयोे रतियादेवीको हत्या
प्रहरीका अनुसार शुक्रबार राति ९ बजे अभियुक्त गणेश मादक पदार्थ सेवन गरी तरकारी बजार नजिक रोकेर राखेको ना ५ ख ६७४ नम्बरको रघुकुल डिलक्स बसमा भित्रबाट ढोकाको चुकुल लगाएर बसिरहेका थिए । रतियादेवीले बसमा बसेका गणेशलाई ढोका खोल्न भन्दा नखोलेपछि गालीगलौज गरेकी थिइन् ।

त्यसपछि गणेशले बसको ढोका खोली रिसको झोँकमा रतियादेवीको घाँटी थिचेर तल फालिदिए । पछि रतियादेवीको मृत्यु भएको गणेशलाई अभाष भएपछि शवलाई रोकेर राखिएको ना ४ ख ७८७४ नम्बरको बस पछाडि तल फालेका थिए । बिहान ५ बज्नासाथ गणेशले आफू चोखिन नजिकै डेरा लिएर बसेकी मृतक रतियादेवीकी छोरी रिना यादवलाई जानकारी दिन गएका थिए ।

प्रहरीले उनलाई तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान गर्दा खड्काले नै रतियाको हत्या गरेको पुष्टि भएको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले पत्रकार सम्मेलन गरी जानकारी गराउनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com