दक्षिण कोरियाले पठायो उत्तर कोरियालाई वार्ता टोलीको नाम


प्रकाशित मिति : पुस २२, २०७४ शनिबार

उत्तर कोरियासँग गर्ने भनिएको उच्चस्तरीय वार्ताका लागि दक्षिण कोरियाले आफ्नो तर्फका वार्ता टोलीका सदस्यको नाम उत्तर कोरियालाई पठाएको समाचार छ ।

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार सो वार्ता टोलीमा पाँच सदस्य रहेका छन् र सो टोलीको नाम हालै स्थापित सीधा टेलिफोन सम्पर्क (हट लाइन) मार्फत पठाइएको हो ।

दक्षिण कोरियाका राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा रहेको पाँच सदस्यीय उच्च अधिकारीका नाम आज पठाएपछि अब उत्तर कोरियाका तर्फबाट पनि सो वार्ता टोलीमा सदस्यको नाम दक्षिण पठाइने छ ।

आगामी हप्ता यी दुई देशबीच उच्चस्तरीय वार्ता हुने भएको छ । शनिबार ती नामको सूची पठाइएपछि उक्त सीधा टेलिफोन सेवा आजका लागि बन्द गरिएको छ । सम्भवत उत्तरका तर्फबाट वार्तामा सहभागी हुने सदस्यको नाम आइतबार प्राप्त हुने सोलले जनाएको छ ।

उक्त हटलाइन सेवा करिब दुई वर्षपछि पहिलो पटक गत बुधबार मात्र पुनस्र्थापना गरिएको हो । जसका कारण यी दुई देशबीचमा आगामी दिनमा वार्ता र सौहार्दताका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यही नयाँ वर्षको अवसरमा जनवरी १ मा उत्तर कोरियाली नेता किम जोङ उनले दिनुभएको शुभकामना सन्देशमा दक्षिण कोरियाले गरेको उक्त उच्चस्तरीय द्धिपक्षीय वार्तामा उत्तर कोरिया सहभागी हुने सङ्केत दिएपछि यी दुई देशबीचको सम्बन्धमा केही सुधार आएको महसुश भएको बताइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले पनि उत्तर कोरियाली नेता उनको उक्त सम्बोधनको स्वागत गर्नुभएको छ । उहाँले वार्ताका लागि तयारी थाल्न नै सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ ।

सोही वार्ताका लागि शनिबार दक्षिण कोरियाले सदस्यहरुको सूची उत्तरलाई पठाएको हो । त्यसैगरी उत्तर कोरियाले पनि आफ्नो तर्फका सदस्यको सूची सार्वजनिक गरेपछि वार्ता अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

दक्षिण कोरियाले गरेको प्रस्ताव अनुसार आगामी हप्ता नै यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तय भएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com