ओली बालकोटमा प्रचण्डलाई कुरेर बसे, तर किन आएनन् प्रचण्ड ?


प्रकाशित मिति : पुस २२, २०७४ शनिबार

काठमाण्डौं, २२ पुस । एमाले–माओवादी एकता प्रक्रियामा सुस्तता देखिएका बेला शनिबार हुने भनिएको दुई दलका शीर्ष नेताको छलफल हुन सकेन ।

एमाले अध्यक्ष केपी ओलीको अस्वस्थताका कारण यो साता दुई दलबीच औपचारिक संवाद हुन सकेको छैन । ओलीको स्वास्थ्यमा सुधार आएपछि शनिबार ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुने भनिएको थियो । गृहजिल्ला चितवनमा रहेका प्रचण्ड जहाज उड्न नसकेका कारण काठमाण्डौ आउन सकेनन् ।

भरतपुर महानगरपालिकाको कार्यक्रममा सहभागी हुन उनी चार दिनअघि चितवन गएका थिए । यसबीचमा उनले औपचारिक कार्यक्रमबाहेक मतदाता, एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ता, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसँगको भेटघाट र पारिवारिक भ्रमणम गरे ।

शनिबार काठमाण्डौ आएर एमाले अध्यक्ष ओलीसँग भेट्ने कार्यक्रम भए पनि भिजिबिलिटी कम भएका कारण जहाज उड्न नसक्दा चितवनमै रोकिनुपरेको प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए ।

‘आज (शनिबार) काठमाण्डौ जाने र एमाले अध्यक्ष कमरेड केपी ओलीसँग पार्टी एकतासहित राष्ट्रिय राजनीतिका विविध विषयमा छलफल गर्ने भन्ने थियो’, महराले भने, ‘खराब मौसका कारण जहाज उड्न नसक्दा हामी यतै (चितवन) रोकियौं ।’ उनले मौसममा सुधार भए आइतबार आउने र ओलीसँग भेटभाट हुने जनाए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com