बिरामी आमालाई उपचार र स्याहारको दुःखले छतबाट खसालेर मार्ने यी प्राध्यापक


प्रकाशित मिति : पुस २२, २०७४ शनिबार

सन्तानलाई नौ महिना कोखमा पालेर अनि सक्षम नहुन्जेलसम्म हुर्काएर बढाउनका लागि आमाको योगदान अतुल्य हुन्छ । तर तिनै आमा बूढी भएपछि सन्तानले अवहेलना गर्ने उदाहरणहरू प्रशस्तै पाइन्छन् ।

भारतको गुजरातस्थित राजकोटमा हालसालै यस्तै घटना भएको छ । एक प्राध्यापकले आफ्नी बिरामी आमालाई छतबाट फ्याँकेर हत्या गरेका छन् ।

दुई महिनादेखि ब्रेन ह्यामरेजका कारण ओछ्यान परेकी आमालाई उपचार र स्याहार गर्नका दुःखले प्राध्यापकले उनलाई मारेका हुन् । घटना सेप्टेम्बर महिनामा भएको थियो तर त्यसको खुलासा बिहीवार भयो ।

पहिला त प्रहरीले यसलाई आत्महत्याको मामिला बताउँदै फाइल बन्द गरेको थियो । तर पछि एउटा बेनामे चिट्ठी आएपछि सीसीटीभी क्यामरा फूटेज हेर्दा चाहिँ छोरोले आमालाई छततिर लगेको देखियो । प्रहरीले कडा सोधपुछ गरेपछि उसले सही कुरा कबुल्यो ।

प्राध्यापकको नाम सन्दीप हो अनि आमाको नाम जयश्रीबेन हो । उनी एक शिक्षिका थिइन् ।

दुई महिनादेखि उनी ब्रेन ह्यामरेजका कारण ओछ्यान परेकी थिइन् । उनका दुई छोरी र एक छोरो सन्दीप छन् । सन्दीप, बुहारी रचना र नातिनीका साथ उनी बस्ने गर्थिन् । सासू बुहारीमा खटपट थियो ।

कसैले प्रहरीलाई बेनामे चिट्ठी पठाएर हत्याको आशंका जतायो । त्यसपछि प्रहरीले सीसीटीभी फूटेजको मिहिन विश्लेषण गर्दा घटना भएको दिन बिहान नौ बजेतिर सन्दीपले आमालाई छत लगेको देखियो । आमालाई छतबाट फ्याँकेपछि ऊ आमाकै चप्पल लगाएर तल झरेको थियो । आमालाई माथि लाँदा खाली खुट्टामा रहेको सन्दीप तल झर्दा चाहिँ चप्पलमा देखिएको थियो ।

राजकोटका प्रहरी डीसीपी करनराज वाघेलाले बताएअनुसार, सन्दीपले प्रहरीलाई झुक्याउन धेरै कोशिश गरेको थियो । पहिला त उसले आमालाई सूर्यपूजा गराउन छतमा लगेको बतायो । प्रहरीले बिरामी आमा कसरी साढे दुई फीटको रेलिङ पार गर्न सक्छिन् भनी प्रश्न गर्दा उसले जवाफ दिन सकेन ।

प्रहरीले कडा सोधपुछ गरेपछि चाहिँ उसले आमालाई छतबाट फ्याँकेको कुरा मान्यो । प्रहरीले आमाको रोगका अलावा सम्पत्ति विवादको कोणबाट पनि अनुसन्धान गरिरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com