डेङ्गुको खोपबाट १४ बच्चाको मृत्यु भएको आशंका


प्रकाशित मिति : पुस २२, २०७४ शनिबार

फिलिपिन्समा डेङ्गुको खोपका कारण १४ जना बालबालिकाको मृत्यु भएको आशंका सहित अनुसन्धान सुरु गरिएको छ ।
स्वास्थ्यमा सतर्कता अपनाउदै सरकारले प्रतिबन्ध लगाएको खोप नै उनीहरुको मृत्युको कारण हुन सक्ने आशङ्का गरिएको अधिकारीहरूले शुक्रबार जनाएका छन् ।

‘डेङभाछिया’को विक्री वितरण गर्न सरकारले गत महिनादेखि नै बन्द गराएको थियो । फ्रान्सेली उत्पादक कम्पनी ‘सानोफी’ ले भने उक्त खोप मानव प्रयोगका लागि सुरक्षित रहेको बताएको छ ।

घटनाबारेमा अनुसन्धान गर्न स्वतन्त्र विज्ञहरुको एउटा टोली बनाएर खटाइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

उनीहरुले एक वा दुई हप्ता भित्रमा प्रतिवेदन तयार पारेर बुझाउने अपेक्षा गरिएको स्वास्थ्य सचिव फ्रान्सीस्को दुक्युले जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा मृत्युको कारण के हो र मृत्युको पछाडी खोपको सम्बन्ध होला कि नहोला भनेर सोधिने भएको छ ।

फिलिपिन्समा गत बर्ष आठ लाख जना विद्यालय तहका बालबालिकाहरुलाई डेङ्गु विरुद्धको खोप दिइएको थियो । विश्वकै पहिलो डेङ्गु प्रतिरक्षा कार्यक्रम अन्तर्गत उनीहरुलाई खोप दिइएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com