कालीकोटका महिला आत्मनिर्भर बन्न च्याउ खेती तालिम लिँदै


प्रकाशित मिति : पुस २१, २०७४ शुक्रबार

 

पुस २१, कालीकोट । जिल्लाका महिलाहरूलाई आत्मनिर्भर बनाउन च्याउ खेती तालिम संचालन गरिएको छ। ग्रामीणस्तरका महिलाहरूलाई उद्यमी बनाउन ग्रामीण पुनर्निर्माण संस्थाको आयोजना र जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा तालिम संचालन गरिएको हो। नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका र तिलागुफा नगरपालिकाका २३ जना महिला र तीन जना पुरुषलाई पाँच दिने च्याउ खेतीसम्बन्धी तालिमको आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक परशुराम काफ्लेले बताए। ‘महिलाहरूलाई व्यावसायिक र आत्मनिर्भर बनाउन तालिम दिइएको हो’, उनले भने, ‘यसले आयआर्जनका काममा पनि सहयोग गर्नेछ।’

जिल्लाको बजारमा च्याउको माग धेरै भए पनि त्यसअनुसारको उत्पादन हुन नसकेका कारण त्यसको माग पूर्तिका लागि तालिमको आयोजना गरिएको प्राविधिक काफ्ले बताए। ‘जिल्लामा च्याउको माग धेरै रहेको छ’, उनले भने, ‘त्यसको पूर्ति गर्नका लागि पनि यो तालिमको आयोजना गरिएको हो।’ जिल्लामा कृषि क्षेत्रबाट फाइदा लिनसक्ने ठाउँ धेरै भए पनि किसानहरूलाई त्यसबारे जानकारी नहुँदा आयआर्जनमा समस्या भएको जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख सुनिलकुमार सिंहले बताए। ‘कृषि क्षेत्रमा आयआर्जनका स्रोतहरू धेरै छन्।

त्यसको जानकारी स्थानीयलाई छैन’, उनले भने, ‘किसानहरूलाई कृषि क्षेत्रको जानकारी भएपछि त्यसबाट आम्दानी लिनसक्छन्।’ निरन्तर कृषि क्षेत्रमा काम गरेको भए पनि कृषि क्षेत्रबाट कसरी फाइदा लिन सकिन्छ भन्ने जानकारी नहुँदा आफूहरूले कृषि क्षेत्रबाट आयआर्जन गर्न नसकेको र च्याउ खेतीबाट आम्दानी हुन्छ भन्ने कुरा बल्ल थाहा भएको तिलागुफा नगरपालिका– ३ की नरपता शाहीले बताइन्। ‘च्याउ खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने कुरा आज थाहा पाइयो’, उनले भनिन्, ‘कृषिमा लागेको भए पनि हामीलाई धेरै खेतीको बारेमा थाहा छैन।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com