हिमपातका कारण चीनमा दश जनाको मृत्यु


प्रकाशित मिति : पुस २१, २०७४ शुक्रबार

चीनको मध्य तथा पूर्वी प्रान्तमा परेको हिमपातका कारण दश जनाको मृत्यु भएको छ ।

यही जनवरी २ देखि परेको हिमपातमा परी उनीहरुको मृत्यु भएको चीनको प्रकोप न्युनिकरण राष्ट्रिय आयोगले जनाएको छ ।

भीषण हिउ बर्षा र हिमआँधीका कारण थुप्रै घरहरु ध्वस्त भएका छन् भने कृषिबाली नष्ट भएको र विद्युत सेवा अवरुद्ध भएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार शान्छी, हेनान, हुबेई, अन्हुई र जिआङसु प्रान्तहरु हिउँबाट बढी प्रभावित भएका छन् ।

झण्डै दुई सय जना विस्थापित भएका छन् भने एक सय जना भन्दा बढी मानिसलाई आपतकालीन सेवाको आवश्यकता रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार झण्डै दुई सय घर ध्वस्त भएको र अरु चार सय घरमा क्षति पुगेको छ ।

खराब मौसमले झण्डै १३ हजार १०० हेक्टर क्षेत्रफलको कृषिभूिममा असर पारेको छ । त्यसमध्ये नौ सय हेक्टर क्षेत्रफलको बालीनाली नष्ट भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com