काभ्रेका ग्यास उद्योगलाई उत्पादन र बिक्री वितरण नगर्न निर्देशन


प्रकाशित मिति : पुस २१, २०७४ शुक्रबार

पुस २१, काभ्रेपलाञ्चोक ।  गुणस्तर तथा नाप तौल विभागले मापदण्ड विपरीत सञ्चालन भएका जिल्लाका ग्यास उद्योगलाई उत्पादन तथा बिक्री वितरण नगर्न शनिबार निर्देशन दिएको छ। विभागका निर्देशक मनोजकुमार उपाध्यायको नेतृत्वमा आएको टोलीले सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योगमा अनुगमन गरेपछि उत्पादन र बिक्री वितरण नगर्न निर्देशन दिएको हो। अनुगमन गरेका ग्यास उद्योगमध्ये सगरमाथा ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न लिनको लागि फारम भरेको तर चिह्न प्राप्त नगरेको उपाध्यायले बताएका छन्। ‘सगरमाथाबाहेक अरु ग्यास उद्योगले नेपाल गुणस्तर चिह्न लिनको लागि फारम समेत भरेका छैनन्’ उपाध्यायले भने, ‘अब ती ग्यास उद्योगहरुले भरेका सिलिण्डरबाहेक अन्य सिलिण्डरहरु भर्न र उत्पादन एवं बिक्री वितरण गर्न पाउँदैनन्।’ नेपाल सरकारले ग्यास उद्योगमा तोकेको गुणस्तर ९एनएस ५३३० अनिवार्य रुपमा पूरा गरेको हुनुपर्नेमा त्यो नभएको कारण ती उद्योग सञ्चालकलाई तीन दिनभित्र विभागमा आउन निर्देशन दिइएको उपाध्यायले बताए।

सरकारले राजपत्रमा २०७३ कात्तिक २९ गते सूचना प्रकाशित गरेर ३ महिनाभित्रमा गुणस्तर चिह्नका लागि फारम भरेर लिइसक्नुपर्ने बताए पनि ती उद्योगहरुले नलिएको पाइएको छ। केही उद्योगले सेफ्टी भल्वसमेत आफैले मर्मत गरेर बजारमा पठाएको देखिएको अनुगमन टोलीले बताएको छ। सगरमाथा ग्यास उद्योगका सञ्चालक अमृत अग्रवालले भने एकैचोटी ग्यास उद्योग बन्द गर्दा उद्योगी र ग्राहकलाई समेत मर्का पर्ने भन्दै केही समय दिएर निश्चित मापदण्ड पूरा गरी व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने बताए।

‘एक्कासी उद्योगहरु बन्द गर्दा उद्योगी र उपभोक्ताहरु मारमा पर्छन्’ अग्रवालले भने। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० थापागाउँमा रहेको सगरमाथा ग्यास उद्योग अमृत अग्रवालले सञ्चालन गर्दै आएका छन्। त्यस्तै सूर्य ग्यास र चण्डेश्वरी ग्यास सुधीर पलाञ्चोके र विष्णुहरि कक्षपतिलगायतले सञ्चालन गरेका छन्। काभ्रेपलाञ्चोक जिल्लामा यसबाहेक उग्रचण्डी र हिमाल ग्यास उद्योग पनि सञ्चालनमा छन्। यी उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न लिएका छैनन्। गुणस्तर चिह्न प्राप्त नगरेकै कारण अब काभ्रेपलाञ्चोकमा सञ्चालनमा रहेका सबै ग्यास उद्योगहरुले ग्यास उत्पादन तथा बिक्री वितरण गर्न पाउने छैनन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com