बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने आमाछोरीविरुद्ध मुद्दा


प्रकाशित मिति : पुस २१, २०७४ शुक्रबार

पुस २१, सिरहा ।  कथित बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा लहान नगरपालिका–२१ खोरिया टोलबाट पक्राउ परेका आमाछोरीमाथि प्रहरीले मुद्दा चलाइएको छ ।

बोक्सीको आरोपमा आफूमाथि कुटपिट गरेको भन्दै स्थानीय ३८ वर्षीया रीतादेवी दासले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेको ३५ वर्षीया इनरदेवी दास र उनकी १८ वर्षीया छोरी निलम दासमाथि मुद्दा चलाएको हो ।

बोक्सी आरोपमा कुटपिट गर्ने आमाछोरीमाथि सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत सिरहामा मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक गणेशचन्द्र ठकुरीले जानकारी दिए ।

गत शनिबार लहान बजारबाट घर फर्किरहेका बेला बेलुकी ७ बजेतिर बोक्सी लगाउने तिमी नै हो, मेरो घर परिवारका सदस्यलाई रोगी बनाउने तिमी नै हो भन्दै इनरदेवी र उनकी छोरी निलमले आफूलाई निर्घात कुटपिट गरेको पीडित रीतादेवीले बताइन् ।

सुरुमा इनरदेवीले भुइँमै पछारे, त्यसपछि निलम र इनरदेवीले निर्घात कुटपिट गरेको रीतादेवीको भनाइ छ ।

बोक्सीको आरोपमा आफूमाथि पटक–पटक कुटपिट गर्दा गाउँमै छलफलबाट मिलाउने गरेको भन्दै रीतादेवीले यस पटक आफू कानूनी उपचारका लागि प्रहरीमा आएको बताइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com