जाडो छल्न हिमाल छिचोलेर नेपाल भित्रिए चरा


प्रकाशित मिति : पुस २१, २०७४ शुक्रबार

 

पुस २१, चितवन । जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिएका छन् ।

नेपालका चराविज्ञ तथा पक्षीविद् संघका अध्यक्ष डा हेमसागर बरालका अनुसार धेरै चरा हिमाल र पहाडका घाँटी नाघेर जाडो छल्न नेपाल भित्रिसकेको छ ।

मुख्यगरी तिब्बत क्षेत्रमा माइनस डिग्री तामक्रम भएकाले चरा जाडो छल्न नेपाल आउने गर्छन् । केही चरा सगरमाथा नाघेरै नेपाल आइसकेका डा बराल बताउनुहुन्छ । साइबेरियाबाट ठूलो संख्यामा चरा नेपाल आएका छन् ।

यसरी बाहिरबाट झण्डै १५० प्रजातिका चरा जाडो छल्न आउने गरेका छन् । जसमा हाँस प्रजातिमात्रै २२ भन्दा बढीका हुन्छन् ।

बसाइँ सरेर आउने १५० मध्ये जलक्षेत्रमा बस्ने ५० भन्दा बढी प्रजाति छन् । बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्व अध्यक्ष वासु बिँडारीले खोया हाँस सगरमाथा नाघेर आइसकेको बताउनुभयो । चखेवा पनि जाडो छल्न नेपाल भित्रिएको उहाँको भनाइ छ ।

मुख्यगरी असोजबाटै चरा बसाइँ सरेर आउन शुरु गरेकामा अहिलेसम्म अधिकांश चरा बसाइँ सरेर जाडो छल्न नेपाल आइसकेको बिँडारी बताउनुहुन्छ ।

नेपालको कपिलवस्तु जिल्लामा पर्ने जगदीशपुर तालमा सबैभन्दा बढी चरा पाइन्छन् । गतको वर्षको गणनामा त्यहाँ २० हजार चरा भेटिएको थियो ।

यसवर्षमा पनि जलपक्षीको गणनाको तयारी गरिएको डा बराल बताउनुहुन्छ । चराको अवस्था पत्ता लगाई संरक्षणको रणनीति बनाउन चरा गणना हुन लागेको उहाँको भनाइ छ ।

पछिल्ला समयमा जलपक्षीमा उतारचढाव आइरहेको भन्दै वासस्थान विनाश, आहारा प्रजातिमा विभिन्न समस्यालगायतका कारणले चरा संरक्षणमा चुनौती थपिँदो छ ।

चितवनका अर्का चरा विज्ञ टीका गिरी चराको अवस्थाका बारेमा अध्यावधि गर्न वर्षेनी पानीचराको गणना हुने गरेको र यो वर्ष पनि गणना गर्ने तयारीमा रहेको बताउनुहुन्छ ।
रासस

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com