ट्रम्पका पूर्वसहयोगीलाई कारवाहीको चेतावनी


प्रकाशित मिति : पुस २०, २०७४ बिहीबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका पूर्वप्रमुख रणनीतिकारबीचको विवाद चर्किएको छ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले स्टिभ ब्याननमाथि राष्ट्रपतिको मानहानि गरेको आरोप लगाएको छ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट गत अगष्टमा बर्खास्त गरिएका ब्याननले मानसिक सन्तुलन गुमाएको टिप्पणी गरेका छन् ।

चेतावनी

अमेरिकी राष्ट्रपतिका वकिलले ब्याननलाई पत्र लेख्दै उनीविरुद्ध कानुनी कारवाही खोज्ने चेतावनी दिएका छन्।

सो पत्रमा राष्ट्रपति ट्रम्पबारे भर्खरै प्रकाशित पुस्तकका लेखकसँग कुरा गर्दा ‘गोप्यता कायम राख्ने सहमति’ ब्याननले भङ्ग गरेको र उनीमाथि मानहानिको आरोप लगाइएको छ।

पुस्तकमा ब्याननलाई उद्धृत गर्दै राष्ट्रपतीय निर्वाचन अभियानका बेला ट्रम्पका छोरा डोनल्ड जुनिअर र रुसीहरूको एउटा समूहबीच भएको एउटा भेटलाई ‘देशद्रोहजस्तै’ भनिएको छ।

पत्रकार माइकल उल्फको उक्त पुस्तकमा राष्ट्रपति ट्रम्प ‘पदका लागि तयार नभएको, आधारभूत विषयमा पनि राम्रो जानकारी नराख्ने र उनको खिल्ली उडाइने गरेको’ उल्लेख छ।

स्पष्टीकरण

एउटा विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले ब्याननसँग आफ्नो वा आफ्नो पदको केही सम्बन्ध नरहेको उल्लेख गरेका छन्।

ट्रम्पले रुसी अधिकारीसँग साँठगाँठ रहेको भन्ने आरोप सार्वजनिक रुपमा नै अस्वीकार गर्दै आएका छन्।

उक्त विषयमा एउटा विशेष संयन्त्रले अनुसन्धान गरिहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com