कार्यालयमा मादक पदार्थ सेवन गरेर आउने यातायातका प्रमुख पक्राउ


प्रकाशित मिति : पुस २०, २०७४ बिहीबार

पुस २०, उदयपुर । दैनिक कार्यालय समयमा मादक पदार्थ सेवन गरेर आउने गरेको आरोपमा उदयपुरमा एक कार्यालय प्रमुख पक्राउ परेका छन्। उदयपुरको गाईघाटमा रहेको यातायात सेवा कार्यालयका निमित्त प्रमुख शिवकुमार तिम्सिना बिहीबार दिँउसो पक्राउ परेका हुन्। उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलसहितको टोलीले यातायात सेवा कार्यालयमा छड्के अनुगमन गरेको थियो।

अनुमगनको पूर्व सूचना पाएर फरार भएका यातायातका प्रमुख तिम्सिना गाईघाट गैरुनको उनकै घरबाट पक्राउ परेका प्रमुख जिल्ला अधिकारी कणेलले बताए। ‘यातायात कार्यालयबाट निमित्त प्रमुख रहेका तिम्सिनाले मादक पदार्थ सेवन गरी कार्यालय बस्ने गरेको दैनिक गुनासो आउन थाल्यो’, उनले भने, ‘छड्के अनुगमनमा समेत नभेटेपछि हामीले उनलाई घरमै प्रहरी लगाएर पक्राउ गरेका हौँ।’ प्रजिअ कणेलसँग कार्यालयका कर्मचारीले गरे यस्तो गुनासो अनुगमनको बेला प्रमुख जिल्ला अधिकारी कणेलसँग कार्यालयकी खरिदार लक्ष्मी न्यौपानेले कार्यालय प्रमुख तिम्सिना कार्यालय समयमै रक्सी खाएर आउने, जताततै पिसाब फेर्ने, महिलालाई अभद्र व्यवहार गर्ने, अश्लील शब्द बोल्ने गरेको गुनासो गरेकी थिइन्। यसैगरी प्रजिअ कणेललाई नै कार्यालयकी सहयोगी पूर्णिमा मगरले आप्mनो तलबसमेत तिम्सिनाले खाइदिने गरेको गुनासो गरेकी छन्।

‘मैले पाउने मासिक आठ हजार रुपैयाँमा तीन हजार रुपैयाँ कार्यालय निमित्त प्रमुख शिव सरलाई बुझाउने गरेकी छु’, उनले भनिन्, ‘मैले आठ हजार पाउने भनेर कागज गरेकी थिएँ, पछि पाँच हजार रुपैयाँ मात्र दिँदै आए, तीन हजार उहाँले नै खाइदिनुभयो।’ ‘कार्यालयमा आएका सेवाग्राहीसँग पैसा लिने गरेको गुनासोसमेत आएको छ’, प्रमुख जिल्ला अधिकारी कणेलले भने, ‘विभागीय कारवाहीका लागि तयारी गरिरहेको छु, तत्काल नयाँ कार्यालय प्रमुख पठाउन यातायात मन्त्रालयलाई पत्राचार गरेको छु।’ ८ जनाको दरबन्दी भए पनि ३ जनाको भरमा कार्यालय २०७२ साउनदेखि संचालनमा आएको यस कार्यालयमा आठ जनाको दरबन्दी छ। तर, कार्यालय तीन जनाको भरमा सञ्चालन हुँदै आएको भेटिएको अनुगमन टोलीले जनाएको छ। स्थापना भएदेखि नै कार्यालय प्रमुख नहुँदा पक्राउ परेका निमित्त प्रमुख तिम्सिनाले सञ्चालन गर्दै आएका थिए। कार्यालयमा प्रमुख एक, नायव सुब्बा दुई, मेकानिकल सुपरभाइजर एक, सहायक लेखापाल एक, खरिदार एक र कार्यालय सहयोगी दुई गरी जम्मा आठ जना सरकारी कर्मचारीको दरबन्दी छ।

कार्यालयमा आठ जनाको दरबन्दी भए पनि हाल पक्राउ परेका निमित्त प्रमुखसहित खरिदार लक्ष्मी न्यौपाने र कार्यालय सहयोगी मगर मात्र छन्। कार्यालय प्रमुखमा शाखा अधिकृत हुने दरबन्दी भए पनि नायव सुब्बा शिव तिम्सिनाको भरमा कार्यालय चलेको थियो। कार्यालयबाट सवारी साधन नवीकरण, सवारी चालक अनुमतिपत्र नवीकरण, अस्थायी रुट परमिट दिने, विभिन्न सवारी नियम उल्लंघन गर्नेलाई जरिवाना गर्नेलगायतका कार्य सम्पादन हुने गर्छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com