आमाको नाममा रहेको जग्गा आफ्नो नाममा गर्न नमानेको भन्दै छोराले निर्ममतापूर्वक हत्या


प्रकाशित मिति : पुस २०, २०७४ बिहीबार

जग्गा नामसारी गर्न नमानेको भन्दै सक्ला-१, लैखमका बुद्धिबहादुर खत्रीले बञ्चरोले हानेर आमाको हत्या गरेका छन् । हत्याको अघिल्लो दिन घर नजिकैको बारीमा खाल्डो खनेर भोलिपल्ट हत्या गरी लास गाडेको प्रहरीले जनाएको छ ।

सम्पत्तिको लोभमा बुद्धिबहादुरले ६५ वर्षकी आमा देउमतीको हत्या गरेको प्रहरीले जनाएको छ । आमाको नाममा रहेको जग्गा आफ्नो नाममा गर्न नमानेको भन्दै छोराले निर्ममतापूर्वक हत्या गरेको प्रहरीले दावी गरेको छ ।

नलसिंहगाड जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जा वितरण गर्न सुरु गरेपछि हत्या योजना बुनिएको प्रहरी अनुसन्धानले देखाएको छ । बुद्धिबहादुरले आमाको हत्या गरि घरनजिकैको बारीमा गाडेका थिए । लास १५ दिनपछि निकालिएको हो ।

यसरी भयो हत्या गएको साउन २१ गते राति सुतिरहेको अवस्थामा बञ्चरोले प्रहार गरि देउमतीको हत्या गरेको बुद्धिले प्रहरी समक्ष बयान दिएका छन् । हत्या गर्नुको अघिल्लो दिनै बुद्धिले खाडल खनि तयार पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘हत्या गर्नुको अघिल्लो दिनै खाडल खनेर तयार बनाएको रहेछ’ जिल्ला प्रहरी

कार्यालयका प्रहरी निरीक्षक हिक्मत बोहोराले भन्नुभयो, ‘सुतेको बेला बञ्चरो प्रहार गरि हत्या गरेर त्यही खाडलमा लिएर लास गाडिएछ । घटना योजनाबद्ध तरिकाले भएको देखिन्छ ।’ बुद्धिले साउन २२ गते बिहानैदेखि आमा हराएको भन्दै प्रहरी चौकी सेपुखोलामा गएको भदौ २ गते निवेदन दिएका थिए । तर बुद्धिको व्यवहार अस्वभाविक र शंकास्पद देखिएपछि प्रहरीले निगरानीमा राखेको थियो ।

घटनास्थल लैखम विद्युत आयोजनाको बाँध निर्माण स्थलसँगै जोडिएको गाउँ हो । आयोजनाले यसअघि विद्युतगृह निर्माणस्थल खगेनकोट–१, दल्लीमा एक सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेको छ । पछिल्लो समय आयोजनाले सक्ला–१ लैखम, सक्ला–२ सेपुखोला, सक्ला–९ काप्तीका प्रभावित नागरिकलाई मुआब्जा दिने निर्णय गरेको छ ।

केही समयमै निवेदन संकलन गरि मुआब्जा दिइने आयोजना विकास समितिले जनाएको छ । आयोजनाले प्रतिरोपनी ४ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा दिने गरेको छ । बुद्धिकी आमा देउमतीको नाममा लैखममा एक रोपनी पाँच धुर जग्गा रहेको प्रहरीको भनाई छ ।

बुहारीले दिन्थिन् दवाव जेठाजुको छोरालाई समेत अंश लाग्ने सासुको नाममा रहेको जग्गा आफ्नो नाममा गराउन बुद्धिकी पत्नी शर्मिलाले पटक पटक दवाव दिने गरेकी थिइन् । देउमतीका श्रीमानको केही वर्षअघि मृत्यु भएपछि जग्गा देउमतीको नाममा नामसारी गरिएको थियो । जग्गा शर्मिलाका नाममा गर्न देउमती राजी नभएपछि हत्या योजना बुनिएको खुलेको छ ।

देउमतीका जेठा छोरा र बुहारीको समेत मृत्यु भइसकेको छ । जेठा छोरातर्फका नाती कामका लागि भारतमा रहेको र नातिनी कोहलपुरमा बसेर पढिरहेकी छिन् । देउमतीका नाममा रहेको जग्गा शर्मिलाका नाममा गराउन यसअघि कोशिस गरिएको थियो । तर मालपोत कार्यालयले अंशियार अरु पनि भएको अवस्थामा उनीहरुको सहमतीबिना नामसारी गर्न नमिल्ने बताएपछि बुद्धिका दम्पती रित्तै फर्किएका थिए ।

घरमा गइसकेपछि पनि शर्मिलाले जग्गा जसरी पनि आफ्नो नाममा गराउन दवाव दिइरहेको प्रहरीले बताएको छ । ‘पटक पटक कि जग्गा आफ्नो नाममा गर्न कि त आमालाई नै मार्न दवाव दिएको देखिएको छ’ घटनास्थल पुगेर फर्किएका प्रहरी निरीक्षक सुवास भट्टले भन्नुभयो, ‘नत्र छोडेर जाने धम्कीसहित बुद्धिलाई मानसिक रुपमा टर्चर दिने गरेको देखिन्छ । अन्त्यमा श्रीमान् श्रीमतीकै योजनामा हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

प्रहरीले निकाल्यो लास खाडलमा पुरिएको लासलाई प्रहरी निरीक्षक भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले शनिबार मात्र उत्खनन् गरेको छ । लास सडिसकेको अवस्था भेटिएको भट्टले बताउनु भयो । लास अन्यत्र लिन सक्ने अवस्थामा नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र दल्लीका चिकित्सकलाई लैखम बोलाएर पोष्टमार्टम गरिएको प्रहरी निरीक्षक भट्टले बताउनुभयो । हत्या अभियोगमा बुद्धिबहादुर र उनकी श्रीमती शर्मिलालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले बुद्धिबहादुर र शर्मिलालाई पक्राउ गरेको छ । जिल्ला अदालत जाजरकोटले अनुसन्धानका लागी ५ दिन थुनामा राख्न आदेश दिएको छ । हत्यामा संलग्न दुवै लोग्ने स्वास्नीलाई आजीवन कारावासको सजाय माग गदै जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक बोहराले बताउनुभयो ।

छोराछोरीको बिचल्ली अबको १५ दिनभित्र अनुसन्धानको सबै प्रक्रिया सकिने उहाँको भनाई छ । लोग्ने स्वास्नी नै हत्या अभियोगमा पक्राउ परेपछि उनीहरुका छोराछोरीको विचल्ली भएको छ । डेढ वर्षको छोरा शर्मिलाको साथमै छ भने ९ र ४ वर्षकी दुई छोरी र ७ वर्षका छोराको घरमा हेरिदिने कोही नहुँदा बिचल्ली भएको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com