प्रादेशिक राजधानी माग्दै धनकुटामा अनिश्चितकालीन आमहडताल


प्रकाशित मिति : पुस १९, २०७४ बुधबार

धनकुटा : धनकुटालाई प्रादेशिक राज्यको राजधानी नबनाउने षड्यन्त्र गरेको भन्दै धनकुटाबासीले अनिश्चितकालीन आमहडताल सुरु गरेका छन्। सरकारले तयार पारेको खाकामा प्रदेश नम्बर १ को अस्थायी प्रादेशिक राजधानी विराटनगर उल्लेख गरिएपछि धनकुटाबासीले विरोध जनाउँदै अनिश्चितकालिन आमहडताल आह्वान गरेका हुन्।

धनकुटालाई प्रादेशिक राजधानी घोषणा नगरिएसम्म आमहडताल जारी रहने आन्दोलन परिचालन समिति संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए। आमहडताल आह्वान गरेका जिल्लाबासीले जिल्लामा बुधबार बिहानैदेखि जिल्लाका विभिन्न ठाउँमा जुलुस निकाल्दै मोटरसाइकललगायत सवारीसाधन चल्न दिएका छैनन्।

बजार, पसल, शैक्षिक संस्था, कलकारखाना ठप्प छन्। लामो तथा छोटो दूरीका बस नचल्दा यात्रु बीच बाटोमै अलपत्र परेका छन्। बिहानैदेखि बन्दमा उत्रिएका धनकुटाबासीले अत्यावश्यकका सवारीसाधन सुरक्षा निकाय तथा प्रेसका सवारी साधन, एम्बुलेन्स, दूध बोक्ने गाडीको सञ्चालनमा रोक नलगाएको श्रेष्ठले जानकारी दिए।

उनका अनुसार सरकारी सवारीसाधन भने सञ्चालनमा भने रोक लगाइएको छ। राणाकालमा प्रशासनिक गौंडा हुँदै पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत रहेको धनकुटामा पर्याप्त भौतिक पूर्वाधार भएको र सामर्थ्य तथा पहिचान रहेको भन्दै प्रदेशको राजधानी बनाउन माग गर्दै यहाँका बासिन्दाले चरणबद्ध अान्दोलन गर्दै अाएका छन्। अन्यत्र प्रादेशिक राजधानी नस्वीकार्ने अडान यहाँका सर्वसाधारणले राखेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com