चिनियाँ कम्पनीले सिमेन्ट कारखानाका लागि १५ अर्ब लगानी गर्ने


प्रकाशित मिति : पुस १२, २०७४ बुधबार

पुस १२, काठमाडौं । चिनियाँ सिमेन्ट उत्पादक कम्पनी ह्वासिनले नेपालमा सिमेन्ट उत्पादनका लागि १५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। लगानी बोर्ड र ह्वासिन सिमेन्ट कम्पनीअन्तर्गतको ह्वासिन सिमेन्ट नारायणी प्रालिबीच बुधबार संझौतापत्रमा प्रारम्भिक हस्ताक्षर भएको हो। संझौतामा बोर्डका तर्फबाट प्रमुख कार्यकारी महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट समुद्रपार विकास निर्देशक ल्यु च्याङ्गोले हस्ताक्षर गरेका छन्।

लगानी बोर्डको ऐन, २०६८ अनुसार १९औँ बैठकले २०७२ मै उक्त सिमेन्ट कारखाना स्थापनाका लागि १५ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको थियो। चिनियाँ लगानीमा स्थापना हुने उक्त सिमेन्ट कारखानाका लागि सरकारले धादिङको पानीखर्कमा चुनढुंगा उत्खनन् गर्नका लागि अनुमति दिइसकेको छ। उक्त कम्पनीले परियोजना वार्ता दस्तुर स्वरूप नेपाल सरकारलाई कुल लागतको शून्य दशमलब दुई प्रतिशत अर्थात् तीन करोड रुपैयाँ बराबर रकम बुझाउनुपर्ने संझौतापत्रमा उल्लेख छ।
कम्पनीले खुला प्रतिस्पर्धाबाट ६० करोड रूपैयाँ नेपाल सरकारलाई बुझाएर उक्त खानी उत्खननका लागि अनुमति पाएको हो। सिमेन्ट कारखाना सुरु भएपछि उक्त कारखानाबाट पहिलो चरणमा दैनिक तीन हजार टन सिमेन्ट उत्पादन हुने लगानी बोर्डले जनाएको छ। हस्ताक्षरपछि बोल्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकारीले उक्त कम्पनीसँग भएको लगानी संझौताले नेपालमा लगानी गर्न उचित वातावरण भएको सन्देश दिएको बताए।

उनले कम्पनीले उत्पादन गर्ने सिमेन्टको आपूर्तिबाट नेपालमा गुणस्तरीय सिमेन्टको माग पूरा गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे। कार्यक्रममा बोल्दै कम्पनीका समुद्रपार विकास निर्देशक ल्यु च्याङ्गोले नेपालको विकासमा सिमेन्ट उद्योगमार्फत् सहकार्य गर्ने बताए। उनले लगानीका लागि अवसर प्रदान गरेकामा लगानी बोर्डलाई धन्यवादसमेत दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com