एकता सफल अध्यक्ष छोड्न ओली तयार, सहअध्यक्ष भएपनि दाहाललाई ठिकै


प्रकाशित मिति : पुस ११, २०७४ मंगलबार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ९ पुष बिहान चितवनको भरतपुरमा आफ्नो स्वागतमा आयोजित कार्यक्रममा पार्टी एकताका विषयमा देखिएका अप्ठेराबारे पनि बोले। ‘पार्टी एकतामा अवश्य पनि केही जटिलता छन्, त्यसबारे हामीले सोचिसकेका छौं’, प्रचण्डले भनेका थिए, ‘तर पछि हट्ने विकल्प हामीसँग छैन, एकताका लागि अघि जानेमात्र विकल्प छन्।’

राष्ट्रियसभा सम्बन्धी विधेयकमा एमाले–कांग्रेसका आआफ्ना अडानका कारण राजनीतिक गतिरोध अरु बढ्ने देखिएको छ। यो स्थितिमा एमाले–माओवादी केन्द्र ढुक्कसँग पार्टी एकताको प्रयासमा लागे हुने हो। तर, प्रचण्डले भनेजस्तै एकतामा जटिलता छन्, त्यसैले राष्ट्रियसभा गठनसम्बन्धी विवादले सिर्जना गरेको फुर्सदका बीचपनि उनीहरुले एकता–वार्ता चलाउन सकेका छैनन्।
एमाले–माओवादी बीचको एकतामा सबैभन्दा जटिल बनेको छ, एकीकृत पार्टीको पहिलो अध्यक्ष को बन्ने भन्ने विषय। र, एकता अघि नै एमालेका केही शीर्ष नेताहरु प्रचण्ड र माओवादीका पनि केही शीर्ष नेताहरु ओलीको पक्षमा उभिदिँदा यो विषय झन् जटिल बन्न पुगेको हो। यही विषयले गर्दा १७ असोजमा भएको एकता घोषणा अघिको ‘भद्र सहमति’ समेत धरापमा परेको आँकलन गरिँदैछ।

माओवादीसँग एकता गर्ने निर्णयपछि ओली पार्टीभित्र झनै शक्तिशाली बनेको एमालेको एउटा खेमाको विश्वास छ। किनकी ओलीका सहयोगीहरू निर्वाचनमा प्राप्त सफलतापछि ओली नै प्रधानमन्त्री बन्ने पक्का भएको ठान्छन्। प्रधानमन्त्रीसाथै पार्टी अध्यक्ष पनि बनाएर ओलीलाई झन् शक्तिशाली बनाउने प्रयासमा उनीहरू जुटिरहेका देखिन्छन्। प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै ओली नै भएको खण्डमा माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम जस्ता नेताहरुको भूमिका झन कमजोर हुनेछ। त्यसैले, एमालेका यी नेताहरु ओली पार्टी अध्यक्ष पनि बनेको देख्न चाहिरहेका छैनन्।

पार्टी एकताकै पक्षमा भएपनि, त्यसैले उनीहरुको जोड एकतापछि प्रचण्डलाई पार्टीको नेतृत्व दिनुपर्छ भन्ने छ। पार्टीका बरिष्ठ उपाध्यक्ष बामदेव गौतमले त एकताका बेला सरकारको नेतृत्व ओलीलाई र पार्टीको नेतृत्व प्रचण्डलाई दिने भद्र सहमति भएको दोहोर्याउँदै आएका छन्। नेपालले पनि प्रचण्डको योगदानका कारण पनि उनलाई पार्टी अध्यक्ष बनाएर एकता गर्नुपर्ने कुरा सार्वजनिक रुपमा नै बताइसकेका छन्।

एमालेको नवौं महाधिवेशनमा अध्यक्षको प्रतिस्पर्धामा ओलीका प्रतिद्वन्द्वी थिए नेपाल। महाधिवेशमा ओलीबाट झिनो मतले पराजित भएपनि केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समितिमा ओलीको स्थिति बलियो बन्यो। अझ भारतीय नाकाबन्दीका बेला प्रधानमन्त्रीका रुपमा प्रभावकारी भूमिका खेलेपछि ओली पार्टी र राष्ट्रिय राजनीतिमा समेत बलशाली देखिए। ओली शक्तिशाली बन्दै गएको नेपाललाई चित्त बुझेको छैन।

गौतमपनि ओलीसँग सन्तुष्ट छैनन्। आफू प्रधानमन्त्री बनेपछि गौतमलाई पार्टीको नेतृत्व दिने बताएर ओलीले महाधिवेशन र संसदीय दलको निर्वाचनमा उनको साथ लिएका थिए। तर, पहिलो पटक प्रधानमन्त्री हुँदा न गौतमलाई पार्टी नेतृत्व दिए, न अब नै दिने सोचाई बनाएका छन् ओलीले। बर्दिया १ मा ओली पक्षीय नेताहरुबाट अन्तरघातको शिकार भएको बुझाईपछि त गौतम ओलीसँग झन् धेरै आक्रोशित बनेका छन्।

माओवादीभित्र पनि स्थिति यस्तै छ। एकता प्रक्रियाबाट माओवादीमा गएका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पार्टी नेतृत्वको प्रवल आकांक्षी हुन्। तर, कम्तिमा प्रचण्ड छउन्जेल उनले पार्टी नेतृत्व पाउने स्थिति छैन। एमाले–माओवादी बीचको एकतापछि प्रचण्ड नै अध्यक्ष हुने हो भने दोस्रो बरियतामा ओली नै पर्नेछन्। यस हिसावले एकतापछि पार्टीभित्र उनी झन् कमजोर बन्न सक्छन्, नेतृत्व पाउने अवसर झन् टाढा पुग्नसक्छ।

त्यसैले, प्रचण्ड अध्यक्ष होइन, सहअध्यक्ष होउन् भन्ने चाहना सायद श्रेष्ठको पनि छ। ओलीको प्रधानमन्त्री पद त सुरक्षित भइसकेको छ। प्रचण्डलाई अध्यक्षको साटो सहअध्यक्ष बनाइँदा ओलीपनि सहअध्यक्षकै भूमिकामा हुन्छन्। त्यो स्थितिमा बरियता निर्धारण गरिँदा माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, र्इश्वर पोखरेल, रामबहादुर थापा र श्रेष्ठ संभवतः एउटै बरियतामा रहन पाउँछन्। प्रचण्ड सहअध्यक्ष हुँदा श्रेष्ठलाई हुने सम्भावित फाइदा यही हो।

कतिपय एमाले नेताहरूका अनुसार आफ्नै साथमा भएपनि महासचिव ईश्वर पोखरेललाई विश्वास गरिहाल्ने स्थितिमा ओली छैनन्। नेपाल, गौतम र खनाल त ओलीका ‘प्रतिपक्षी’ भइहाले। त्यसैले अहिले ओलीलाई सहअध्यक्ष बन्न् साथ दिँदा भोलिका दिनमा ओलीको समर्थन आफुले पाउने विश्लेषण श्रेष्ठको हुनसक्छ। त्यसैले श्रेष्ठ प्रचण्ड र ओली दुवै सहअध्यक्ष रहने गरी एकतामा जानु पर्ने लविङमा छन्।
निर्वाचनपछि पहिलो पटक गोरखा पुगेका श्रेष्ठले सोमबार ‘ओली र प्रचण्डबीच नेतृत्वका विषयमा सैद्धान्तिक छलफल भएपनि अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सम्झौता नभएको’ प्रष्टीकरण दिएका थिए।

तर एकता वार्ताकारहरूले पार्टी एकता र चुनावमा सफलतापछि ओली प्रधानमन्त्री हुँदा आफू एकिकृत पार्टीको अध्यक्ष बन्ने पक्का भएपछि नै प्रचण्ड एकताका लागि सहमत भएको बताउँदै आएका छन्। १२ असोजका दिन ओलीले उपाध्यक्ष गौतम र उपमहासचिव विष्णु पौडेलमार्फत् एकतापछि प्रचण्डलाई अध्यक्ष बनाउने कुरामा आफू सहमत भएको सन्देश पठाएपछि मात्र चुनावी गठबन्धन र पार्टी एकताको प्रयासले मूर्तरुप पाएको थियो।

तर, श्रेष्ठले नै ओली र प्रचण्ड दुवैलाई सहअध्यक्ष बनाउने लविङ थालेपछि प्रचण्डले भद्र सहमतिको कुरा उठाउन सकिरहेका छैनन्। उता, नेपाल र गौतम प्रचण्डलाई अध्यक्ष बनाउने पक्षमा उभिएपछि ओलीलाई पनि अध्यक्षको दावी गर्न असहज भइरहेको छ। ओली प्रधानमन्त्री बनेको स्थितिमा अध्यक्षको समेत दावी गर्न नमिल्ने भएकाले ओली पक्षीय नेताहरु प्रचण्ड–ओली दुवैलाई सहअध्यक्ष बनाएर पार्टी एकता गर्नुपर्ने पक्षमा जोड दिइरहेका छन्।

आफू प्रधानमन्त्री बन्ने भएपछि ओली आफैं चाहिँ प्रचण्डलाई अध्यक्ष बनाउन तयार छन्। तर, उनलाई डर के छ भने, प्रचण्ड अध्यक्ष बन्दा पार्टीभित्रका आफ्ना प्रतिद्वन्द्वीहरु एकाएक बलियो हुने र आफू कमजोर भइने त होइन? त्यसैले, प्रचण्डलाई अध्यक्ष बनाएर भएपनि छिट्टै पार्टी एकता गर्न सुझाव दिएका आफू पक्षीय नेता–कार्यकर्तालाई ओलीले भन्ने गरेका छन्, ‘केही व्यवस्थापनका कुरा छन्, त्यो मिल्नासाथ प्रचण्डलाई नै अध्यक्ष बनाएर पार्टी एकता गर्न सकिन्छ।’

उता प्रचण्डपनि ओलीकै समकक्षमा रहने गरी सहअध्यक्ष भएर पार्टी एकतामा जान तयारै छन्। तर, उनलाई पनि ओलीसँगको गठजोडका कारण आफू कमजोर भइने हो कि भन्ने डर छ। त्यसैले, सहअध्यक्षकै प्रावधान राखेर एकता गर्ने हो भने ओलीको साथ पाइरहने र आफू कमजोर नहुने आँकलनका साथ प्रचण्ड यो पद स्वीकार्न तयार देखिन्छन्।
यसरी आफ्नै पार्टीभित्रका विरोधीका कारणका ओली–प्रचण्डले आमनेसामने हुँदा एकता र एकतापछि जिम्मेवारी बाँडफाँडका सम्बन्धमा जमेर कुरा गर्न सकिरहेका छैनन्। स्रोतको दावी के छ भने, फोनमै सही, प्रचण्ड काठमाडौंबाट बाहिरिएपछि चाहिँ यस विषयमा बल्ल छलफल हुन थालेको छ। चितवनका कार्यक्रम सकेर मंगलबार काठमाडौं फर्केपछि सम्भवत पार्टी नेतृत्वको विषयमा ओली–प्रचण्ड आमनेसामने हुँदै खुलेर छलफल गर्नेछन्।

त्यसैले, ओली पक्षीय एमाले नेता विष्णु पौडेलले सोमबार भनेका छन्, ‘एमाले–माओवादीबीच एकता प्रक्रियाको घोषणा ‘सरप्राइज’ शैलीमा हुनसक्छ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com