ओली -प्रचण्डको पार्टी एकता वार्ता बालुवाटारको चियापसलमा


प्रकाशित मिति : पुस ७, २०७४ शुक्रबार

हालै सम्पन्न निर्वाचनामा आशातित सफलता प्राप्त गरेका एमाले र माओवादी बीचको पार्टी एकता गर्न दुवै दलका अध्यक्ष निकै हतारमा रहेका छन् । शुक्रबार दिउंसो एमाले स्थायी समितिको बैठक बोलाइएकाले विहानै एमाले उपाध्यक्ष बामदेव गौतमा प्रचण्ड निवास पुगेका थिए । झण्डै सवा घण्टा दुईजनाले मात्र पार्टी एकताका विषयमा नै कुरा गरेको अध्यक्ष प्रचण्डले एबीसीलाई बताए । प्रचण्डका अनुसार चुनावी गठवन्धनदेखि अहिलेसम्म आउंदा ओलीसंगको केमेस्ट्री जमिरहेको छ । गौतमले पनि शुक्रबार विहान प्रचण्डलाई छिटोभन्दा छिटो पार्टी एकता गर्नु पर्ने अध्यक्ष ओलीको धारणा रहेको बताएक थिए ।

विहान ११ बजे बालुवटारमा कांग्रेससंगको बैठक लगत्तै ओली र प्रचण्ड प्रम निवासको ३ नं. गेट अगाडिको चियापसलमा वान टु वान आधा घण्टाभन्दा बढी कुरा गरे । त्यो भेटमा पछिल्लो समयको समीक्षा सहित ओलीले आफ्नो पार्टीको स्थायी समितिको पार्टी एकतासम्वन्धी छलफल गर्ने विषयमा जानकारी गराएका थिए ।
ओली र प्रचण्ड चियापसलमा पसेको देख्दा छिमेकीहरु चकित परेका थिए । ओलीका एकजना सहयोगीका अनुसार त्यो चिया पसलमा विभिन्न किसिमका हिमाली चियाहरु पाइने हुनाले ओलीले धेरै पटक त्यहांबाट चिया किन्ने गरेका थिए ।

ओली निकट एकजना नेताका अनुसार चिया सम्वादमा हिजो मोदीले उनीहरुलाई गरेको टेलिफोन सम्वाददेखि अध्यादेश र निर्वाचन आयोगको भूमिकाका विषयमा समेत छलफल भएको थियो । त्यो भेटको मुख्य उद्धेश्य भने पार्टी एकताका विषयमा प्रचण्डले कसरी सोचिरहेका छन् भन्ने बारेमा ओलीलाई जान्नु थियो । त्यसका आधारमा नै अ‍ोलीले स्थायी समितिको बैठकमा जानकारी गराउने छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com