वाम गठबन्धन जनअनुमोदित भयो– अध्यक्ष दाहाल


प्रकाशित मिति : पुस ६, २०७४ बिहीबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जनताले वाम गठबन्धनलाई स्पष्टरुपमा अनुमोदन गरेको बताउनुभएको छ ।

नेपाल देशभक्त गणतान्त्रिक मोर्चाले आज अध्यक्ष दाहालको सम्मानमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो– “वाम गठबन्धन जनअनुमोदित भएकाले अब जनताको पक्षमा नै काम गर्ने जिम्मेवारी आएको छ ।”

अध्यक्ष दाहालले निर्वाचनमार्फत जनताले दिएको जनमतप्रति पार्टी र नेता विनम्र हुनुपर्ने र जनतालाई नै केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिदैं “जनताले हामीलाई निकै ठूलो जिम्मेवारीको भारी बोकाएका छन्” भन्नुभयो ।

“हाम्रो दायित्व देशमा स्थिरता र विकासको सपना साकार पार्नु हो, जनमतबाट हामी अझै जिम्मेवार बन्नुपर्छ, विनम्र बन्नुपर्छ र जनमतको सम्मान गरेर अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो– “नेकपा(एमाले) र माओवादी केन्द्रबीच वामपन्थी गठबन्धन बनाएर निर्वाचनमा जाँदा जनताले हृदयदेखि नै त्यसलाई स्वीकार गरेकाले कोहीकसैलाई पनि दायाँबायाँ गर्ने अधिकार छैन् ।”

अध्यक्ष दाहालले भन्नुभयो, “जनताले वाम समीकरण र पार्टी एकतालाई अनुमोदन गरेका छन, अब हामी इमान्दार भएर अगाडि बढ्नुपर्छ, निर्वाचनले धेरै चुनौतीको समाधान दिएको छ तर केही चुनौती अझै पनि देखिएका छन्, त्यसलाई पनि हामी हल गर्छौं ।”

पछिल्ला दिनमा राष्ट्रियसभाका सम्बन्धमा निकालिएको विवादलाई संविधान र कानूनको फरक व्याख्याका रुपमा टिप्पणी गर्दै उहाँले विद्यमान विवादलाई जनमतअनुसार नै समाधान गर्न सकिने स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले राष्ट्रिय एकता र भौगोलिक अखण्डताको प्रावधानबाहेक अरु कुरा जनमतका आधारमा परिमार्जन गर्न सकिन्छ भन्नुभयो ।

इतिहासले आफू र आफ्नो पार्टी तथा पछिल्लो दिनमा वाम गठबन्धनलाई ठूलो अवसर दिएको चर्चागर्दै उहाँले त्यसलाई सम्मान गरेर राष्ट्र निर्माणमा लाग्ने दृढता व्यक्त गर्नुभयो ।

“एकै व्यक्तिलाई यति धेरै अवसर निकै कमलाई मात्रै प्राप्त हुन्छ, मलाई त्यस्तो अवसर प्राप्त भयो, नेपाल राष्ट्र र नेपाली जनताप्रति म ऋणी छु, अध्यक्ष दाहालले भन्नुभयो– “नेपालमा सबैभन्दा ठूलो आन्दोलन र बलिदान मेरै नेतृत्वमा भयो, त्यसले गणतन्त्र, संघीयता र नयाँ संविधान दियो ।”

उहाँले भन्नुभयो–“युद्ध र शान्ति दुवैको नेतृत्व गर्ने अवसर जनताले दिए, संविधान निर्माण र कार्यान्वयनमा पनि नेतृत्वदायी भूमिका खेल्न सके, अब नेपालको स्थिरता, विकास र समृद्धिको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ, त्यसलाई इमान्दारिताका साथ पूरा गर्छौं ।”

मोर्चाका अध्यक्ष बाबा बस्नेतले नेपालको आर्थिक समृद्धि, राजनीति स्थायित्वका लागि वाम गठबन्धनको विजयले मार्गप्रशस्त गरेको बताउँदै वाम गठबन्धनलाई एकीकृत पार्टीकारुपमा अगाडि बढाउन तत्काल पहल गर्न र जनअपेक्षा पूरा गर्नसमेत अध्यक्ष दाहाललाई आग्रह गर्नुभयो ।

वाम गठबन्धन बनाउन र वामपन्थी शक्तिलाई दुई तिहाइ बहुमतका साथ विजयी गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै मोर्चाले सोही कार्यक्रममा अध्यक्ष दाहाललाई सम्मान पनि गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com