मोदीले गरे देउवा, ओली र दाहाललाई फोन


प्रकाशित मिति : पुस ६, २०७४ बिहीबार

पुस ६ काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका तीन दलका शीर्ष नेतासँग बिहीबार साँझ टेलिफोन वार्ता गरेका छन् ।

नेपालमा मंसिरमा भएको निर्वाचनपछि वाम गठबन्धनले बहुमत पाएको अवस्थामा प्रम मोदीले बिहीबार साँझ तीनै नेतासँग टेलिफोन वार्ता गरेका हुन् । भारतीय विदेश मन्त्रालकाय प्रवक्ता रभिषकुमारले बिहीबार साँझ नै भएको नियमित पत्रकार सम्मेलनमा यो कुराको पुष्टि गरेका हुन् ।

‘तपाईँहरुसँगै अहिले मेरो संवाद भइरहँदा प्रधानमन्त्रीज्यूले नेपालका तीन नेतासँग टेलिफोन वार्ता गरिरहनुभएको छ’, उनले भने, ‘तर, उहाँहरुबीच भएको संवादको विस्तृत विवरण हामीलाई प्राप्त भइसकेको छैन ।’

नेपालमा नयाँ जनादेशपछि सरकार गठनमा ढिलाइ भइरहेको अवस्थामा चासो देखाउँदै शीर्ष नेतासँग मोदीले फोन स‌ंवाद गरेका हुन् । सरकार गठनको प्रयासबीच राष्ट्रिय सभा गठनलाई लिएर दलहरुबीच विवाद भइरहेकाले मोदीको फोनलाई अर्थपूर्णरुपमा लिइएको छ ।

नेपालमा म‌ंसिरमा निर्वाचन सम्पन्न भएपछि भारतले दोस्रो पटक आफ्नो धारणा सार्वजनिक गरेको हो । यसअघि भारतीय विदेश मन्त्रालयले नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै विज्ञप्ति निकालेको थियो ।

यसअघि २०७२ असोजमा नेपालले नयाँ स‌ंविधान जारी गरेपछि आफूलाई नसोधिएको भन्दै भारतले ६ महिनासम्म नाकाबन्दी लगाएको थियो । नेपालले जारी गरेको सं‌विधानको अहिलेसम्म स्वागत नगरेको भारतले म‌ंसिरमा निर्वाचन सकिएकोमा भने स्वागत गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com