भरतपुर अस्पतालमा बेड अभावले सुत्केरी आमा र बच्चालाई सास्ती


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

पुस ४ चितवन– भरतपुर अस्पतालमा पर्याप्त बेड नहुँदा समय–समयमा सुत्केरी महिलाले बेड कुर्नुपर्ने अवस्था आउने गरेको छ ।

भरतपुर अस्पतालको सुत्केरी बार्डमा १४ वटा मात्रै ‘एक्टिभ लेबर बेड’ छन् । अस्पतालमा दैनिक ३० देखि ३५ जनाको सुत्केरी गराउने गरेको सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।

‘लेबर बेडमा भएका सुत्केरी बाहेक अन्य सुत्केरी एवं बच्चालाई बाहिर नै राख्नुपर्ने वाध्यता छ,’ पौडेलले भने, ‘यो समस्या समाधानका लागि महानगरपालिकासँग सुत्केरी वार्ड छुट्टै ब्लकमा सार्न प्रस्ताव गरेका छौं।’

अहिले अस्पतालको ‘बि ब्लक’को भुँइतलामा सुत्केरी वार्ड छ। पर्याप्त बेड नहुँदा सुत्केरी एवं बच्चालाई जाडोयाममा समस्या पर्न थालेको पौडेल बताउँछन्।

चिसोबाट बच्नका लागि स्वयं सेवाग्राहीले नै न्याना कपडा वा जाडोबाट जोगिने बन्दोबस्त मिलाउनुपर्ने अवस्था रहेको पौडेलले जनाए। जिल्ला जनस्वास्थ्य कार्यालयको न्यानो कपडा वितरण कार्यक्रम भरतपुर अस्पतालमा सञ्चालन नभएको उनले जानकारी दिए।

चालु आर्थिक वर्ष ०७४ र ७५ को कात्तिक महिनासम्म ५ हजार २ सय २६ महिला भरतपुर अस्पतालमा सुत्केरी भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com