म्यादी प्रहरीले किशोरीलाई सामूहिक बलात्कार गरेको आरोप


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

४ पुस, नेपालगन्ज । बाँकेको नरैनापुर ५ मटेहियामा १४ वर्षीया एक किशोरीलाई म्यादी प्रहरीले सामूहिक बलात्कार गरेको आरोप लगाइएको छ ।

इलाका प्रहरी कार्यालय भोज भगवानपुरमा खटिएका तीन जना म्यादी प्रहरीले गाउँकै एक किशोरीलाई बलात्कार गरेको खुलासा भएको हो ।

इलाका प्रहरी कार्यालयभन्दा करिब ३ किलोमिटर उत्तर पूर्वमा गस्तीमा गएको बेलामा सो घटना भएको जनाइएको छ ।

किशोरी कराएपछि उद्धार गर्न पुगेका गाउँलेहरुले म्यादी प्रहरी टेकबहादुर बिकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । घटनामा संलग्न बाँकी २ जना म्यादी भने फरार भएको बताइएको छ ।

सोमबार साँझको घटना भए पनि स्थानीयस्तरमै घटना मिलाउने प्रयास सफल नभएको र विवाद सुरु भएपछि पीडित र पीडकलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँके झिकाइएको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले जानकारी दिए ।

उनले पीडित किशोरीलाई नेपालगञ्ज ल्याई स्वास्थ्य परीक्षण गरी पीडकमाथि अनुसन्धान सुरु गरेको जनाए । पीडित किशोरीको मानसिक अवस्था विक्षिप्त रहेको गाउँलेले जनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com