फेरि बढ्यो इन्धनको मूल्य, १५ दिनमा दोस्रो पटक मूल्यवृद्धि


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

नेपाल आयल निगमले १५ दिनको अन्तरमा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले मंगलवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो ।

यसअघि निगमले मंसिर २२ मा इन्धनको मूल्य समायोजन गरेको थियो ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ७८/७८ रुपैयाँ पुगेको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले स्वचालित मूल्य प्रणाली अनुसार नै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको दाबी गरे ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै राखिएको छ ।

नयाँ मूल्यसूची अनुसार अब निगमलाई प्रतिलिटर पेट्रालमा २ रुपैयाँ ६७ पैसा नाफा नाफा छ । त्यस्तै, डिजेलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा छ ।

मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ २७ पैसा नाफा तथा हवाई इन्धन आन्तरिकमा १२ रुपैयाँ ८३ पैसा र बाहृयमा २४ रुपैयाँ ८८ पैसा नाफा रहेकोे निगमले जनाएको छ । खाना पकाउने एलपीजी ग्यासमा भने अझै पनि प्रतिसिलिण्डर २ सय २६ रुपैयाँ घाटा छ ।

डिजेल र खाना पकाउने ग्यासको विक्री अत्यधिक हुँदा पनि घाटा चुलिएको निगमले जनाएको छ ।

मूल्य समायोजन गरेसँगै अब मासिक घाटा ११ करोड ३९ लाख रुपैयाँ पुग्ने निगमको प्रक्षेपण छ । अहिले यस्तो घाटा साढे १९ करोड रुपैयाँ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com