एमाले अध्यक्ष ओलीद्वारा रसुवाागढी नाकाको अवलोकन


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

पुस ४, २०७४- नेकपा एमाले अध्यक्ष केपी ओलीसहितका नेताले रसुवागढी नाकाको अवलोकन गर्नुभएको छ । नेपाल र चीन जोड्ने मितेरी पुलमा पुगेर ओलीसहित एमाले नेताले रेल आउने बाटोको अवस्थाबारे जानकारी लिनुभएको हो । सोही नाका भएर चिनियाँ रेल नेपाल प्रवेश गर्दैछ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीसँगै एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायत नेता हेलिकप्टर चढेर आज दिउँसो रसुवागढी पुग्नुभएको हो । अवलोकनपछि गोसाईकुण्डमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रसुवागढी नाकालाई अन्तराष्ट्रिय नाकाको रुपमा विस्तार गर्ने बताउनुभयो । चीनले पनि यो नाकालाई अन्तराष्ट्रिय नाकाका रुपमा घोषणा गरिसकेको छ । रसुवागढी–काठमाडौं, पोखरा–लुम्बिनीसम्म जोडिने रेलमार्गलाई जतिसक्दो छिटो विस्तार गर्ने भन्दै ओलीले गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ रसुवागढी सडकलाई चार लेनको बनाउने आश्वासन दिनुभयो ।

सो सडकमार्ग अहिले दुईलेन निर्माण जारी छ । भूकम्पले क्षति पुर्‍याएको रसुवाको लाङटाङ क्षेत्र पुनर्निर्माण तत्काल गर्ने भन्दै उहाँले दुर्गम जिल्लाको रुपमा रहेको रसुवालाई पर्यटन, जलविद्यु्त् र जडिबुटीको माध्यमबाट विकास र समृद्ध बनाउने बताउनुभयो । रसुवागढी नाकामा एकीकृत भवन निर्माणलाई गति दिन आफूले कानुनी अड्चन फुकाउन पहल गर्ने पनि ओलीको भनाइ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com