बेपत्ता श्रीमान फर्किने आसमा मन्दिरदेखि चर्चसम्म


प्रकाशित मिति : पुस ३, २०७४ सोमबार

–ज्ञानु पंगेनी–

नवलपरासी । श्रीमान फर्किने आसमा बाटो हेरेको १० वर्ष बित्यो । तर कुनै अत्तोपत्तो छैन । कावासोती १४ की नानुमाया रानाभाट श्रीमान फर्केर आउँछन् की भनेर मठ मन्दिर धाउँन थालेको पनि धेरै भो । श्रीमान भेटाउने रहर नदेखिने भगवानले पो पूरा गरिदिन्छन् की भन्ने आसामा भ्याएसम्मका धेरै मठ मन्दिरमा पुकारिन् उनले । तर न सासको खबर छ न लासको ।

दश वर्ष अघि धन कमाउन विदेश हिँडेका श्रीमान वेपत्ता भएपछि नानुमायाको जीवन अहिले अन्धकार जस्तै भएको छ ।

घरपरिवार सबै मिलेर खोजी गर्नेदेखि, प्रहरी प्रशासन र सरोकारवाला निकायसँग श्रीमानलाई खोजी गरिदिन आग्रह पनि गरिन् । तर कतैबाट पनि श्रीमानको पत्ता नलागेपछि अहिले उनी भगवानकै भरोसामा छिन् ।

एक दशक श्रीमनको बाटो कुरेर बसेकी नानुमायालाई विभिन्न खाले मान्छेका विश्वाससँग पनि विश्वास लाग्न थालेछ । अर्थात समाजको ठूलो हिस्साले विश्वास गर्ने इश्वर र अन्य…..‘श्रीमान फर्किन्छन् की भनेर सबै मठ मन्दिरमा पुगेँ । प्राथना गरे । तर श्रीमानको कुनै अत्तोपत्तो लागेन ।’ धामिसँग हेराउने, देखाउनेदेखि लिएर पितृ बोलाउनेसम्म गर्दासम्म पनि श्रीमानको पत्तो नलागेपछि उनी अहिले चर्च धाउन थालेको बताउँछिन् ।

शेरवहादुर रानाभाटकी आमा छोरा सम्झेर रुदै

यशुसँग प्राथना ग¥यो भने हराएका श्रीमान फर्किन्छन् भनेर गाउँलेले सुनाएपछि डेढ वर्षदेखि प्राथना गर्दै आईरहेको पनि उनले बताइन् ।
४५ वर्षका श्रीमान शेरवहादुर रानाभाट धेरै पैसाँ कमाउने, परिवार पाल्ने आसामा अफगानिस्तान हिँडेका थिए । उनी बाटोबाटै वेपत्ता भएका हुन् ।

नानुमायाका अनुसार एघार वर्षसम्म साउदीमा कमाइ गरेर फर्किएका शेरबहादुर बढी कमाउने लोभमा गाउँकै प्रेम सुनार भन्ने साथी मार्फत् भारतको बाटो हुँदै अफगानिस्तान जान हिँडेका थिए । दलालले अफगानिस्तानमा महिनाको ३ लाख रुपैयाँ कमाउन सकिन्छ भनेर प्रलोभनमा पारेर लगेको नानुमायाको भनाइ छ ।

उनीसँगै गाउँका युवा लगायत अन्य जिल्लाका २५ जना युवाहरू समेत अफगानिस्तान हिँडेका थिए । दलालले उनीहरूसँग प्रतिव्यक्ती ३ लाख रुपैयाँका दरले उठाएको थियो । वि.स २०६६ साल असोज महिनामा घरबाट निस्केका शेरबहादुर भारतबाट नै वेपत्ता भएका हुन् । ‘२०६६ साल असोज २३ गते राती साढे ८ बजे म सुनौली आइपुगे, अब दिल्ली पुगेर फोन गर्छु भन्नुभयो । त्यसपछि कहिल्यै सम्पर्क भएन’ श्रीमती नानुमायाले भनिन् ।

उनीसँगै गएका गाउँका अरु युवाहरूले घरमा दिल्ली पुगेर फोन गरेका र आफ्ना श्रीमानले फोन नगरेका कारण उनी दिल्लीबाटै वेपत्ता भएको हुनसक्ने अनुमान नानुमायाले गरिन् ।

उनका सबै साथीहरू अफगानिस्तान नपुगी दिल्लीबाट नै फर्किए । तर शेरबहादुर भने फर्किएनन् । लामो समयसम्म पनि कुनै खबर नपाएपछि नानुमायाका परिवारले सोधखोज गर्न थाले ।

शेर वहादुरसँगै गएका साथीहरूले उनको झोला, कपडा राखिदिएका थिए । तर उनी कहाँ गए भन्ने कसैलाई थाहा भएन ।

नानुमाया र शेरबहादुरको फायल फोटो ।

श्रीमानको खोजी गर्न नानुमाया डेढ महिनासम्म भारतमा गएर बसिन् । भारतका धेरै ठाउँमा खोजी गर्दा पनि श्रीमान फेला परेनन् । उनले भनिन्, ‘भारतका धेरै ठाउँमा खोज्यौँ, कुनै गल्ती गरेर जेलमा परेकी भनेर जेलमा समेत गएर गयौँ । भित्ता भित्तामा फोटो पनि टाँस्यौँ । पत्रिकामा पनि सूचना निकाल्याँै तर पनि उहाँलाई पत्ता लगाउन सकेनौँ ।’ श्रीमानको खोजी गर्दा लाखौँ रुपैयाँ सकिएको उनले बताइन् ।

विदेश जानका लागि घरजग्गा धितो राखेर ऋण निकालेका थिए शेरवहादुरले । ऋण तिर्नकै लागि भएको घरजग्गा समेत बेच्नु परेको नानुमायाले बताइन् ।

घरमा बृद्ध बुबाआमा र दुई छोराको लालनपालन र पढाई खर्च धान्न धौ–धौ भएको थियो नानुमायालाई । मेलापात गरेर छोराहरूलाई हुर्काइन् । अहिले छोराहरू पनि दुई जना नै विदेशमा छन् । घरको अवस्था सुध्रिएको छ । तर, दश वर्षदेखि श्रीमान बेपत्ता छन् । अझैँपनि श्रीमान आउँछन् कि भन्ने आस गरेकी उनले नेपाल सरकारसँग आग्रह गरिन्, ‘मैले मेरो तर्फबाट धेरै प्रयास गरेँ । फेला पार्न सकिन । मेरो श्रीमानको सास र लास जे भए पनि जानकारी गराई देऊ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com