इलामबाट पौने ३ करोड पचाउन खोज्ने पाँच जना पक्राउ


प्रकाशित मिति : पुस २, २०७४ आईतबार

पुस २, इलाम, नाटकीय ढंगबाट ठगीको धन्दा गर्दै आएका माओवादीका पूर्वलडाकुसहित पाँच जनालाई इलाम प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आइतबार इलाम बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेले आफूसँग बहुमूल्य बल्ने ढुङ्गा रहेको र अमेरिका, चीनजस्ता देशमा करोडौं रुपैयाँमा बिक्री हुने भएकाले त्यसमा चार करोड रुपैयाँ लगानी गर्न भन्दै प्रलोभन देखाएर ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीले ठगीका मुख्य योजनाकार पाँचथरका राजबहादुर तामाङ रहेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा रुद्रकुमार नेम्वाङ, योगेन्द्रप्रसाद आङदाम्बे, भयप्रसाद बिक र महेन्द्रकुमार दर्जी रहेका छन् । पक्राउ परेका सबै पाँचथरका भएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकामध्ये तामाङ पूर्वलडाकु हुन् । उनी नै यस घटनाका मुख्य योजनाकार रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव निरीक्षक विपिन कर्माचार्यले जानकारी दिए । पक्राउ परेका व्यक्तिका साथबाट नगद ९० लाख रुपैयाँ, ८ थान गोलीसहित तीनथान पेस्तोल प्रहरीले बरामद गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com