प्रौढ र बालबालिकालाई निःशुल्क विशेषज्ञ सेवा


प्रकाशित मिति : पुस २, २०७४ आईतबार

काठमाडौँ, २ पुस (रासस) : डल्लु आवासस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्को चौधांैँ साधरणसभाले हरिगोपाल श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यकारी समिति चयन गरेको छ ।

सभाले समितिका उपाध्यक्षमा राजेन्द्रबहादुर तुलाधर, महासचिवमा मुकुन्दप्रसाद पाण्डे, सचिवमा प्रकाशकुमार श्रेष्ठ र कोषाध्यक्षमा दयामान शाही तथा सदस्यमा प्रा केशरबहादुर मानन्धर, कमला कार्की, दीपकचन्द्र गौतम, विष्णुप्यारी श्रेष्ठ, रचना लामा, रवि रञ्जित, सुमित्रा मानन्धर र हीराकाजी महर्जनलाई चयन गरेको छ ।
विसं २०३७ फागुन १७ गते भुइँखेलस्थित पाटीमा परोपकार प्राथमिक उपचार केन्द्र स्थापना गरी सामान्य स्वास्थ्य सेवा शुरु गरेको उक्त संस्थाले हाल काठमाडौँ महानगरपालिका–१५, डल्लु आवास क्षेत्रमा करिब दुई रोपनी ९ आना क्षेत्रफलमा परिषद् सञ्चालन गरिरहेको छ ।

चार वर्षभित्र ५० श्ययाको सामुदायिक अस्पताल निर्माण गरी थप स्वास्थ्य सेवा सञ्चालन गर्ने बताइएको छ । वरिष्ठ जनरल फिजिसियन, बालरोग विशेषज्ञ, स्त्रीरोग, हाडजोर्नी तथा नशारोग, नाक, कान, घाँटी, शल्यक्रिया, बाल खोप सेवा, परिवार नियोजन सेवासमेत सञ्चालन गरिएको छ ।

विभिन्न स्वास्थ्य सेवा तथा उपकरण थप गर्दै गएको उक्त संस्थाले एक्सरे, दन्त सेवा, मुटु, फिजियोथेरापी, आँखा परीक्षण सेवा, अल्ट्रासाउण्ड, प्रयोगशाला सेवा, घाउ सफाइ सेवा, औषधालय सेवा प्रदान गरेको छ ।
नवनिर्वाचित महासचिव पाण्डेले आगामी दिनमा ज्येष्ठ नागरिक र बालबालिकालाई विशेषज्ञ सेवा निःशुल्क सञ्चालन गर्न भूमिका निर्वाह गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com