सिरियामा बेचिन लागेकी युवतीको उद्दार


प्रकाशित मिति : पुस २, २०७४ आईतबार

लक्ष्मण खनाल\युएई

एनआरएन युएईद्वारा सिरियामा बेचिन लागेकी युवतीको उद्दार गरी नेपाल पठाएकाे छ ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईले अवैधानिक बाटो हुँदै सिरियामा बेचिन लागेकी  नेपाली महिलाको उद्दार गरी नेपाल फिर्ता पठाएको हाे ।

भारतको बाटो हुँदै नोभेम्बर २३ मा युएई आएकी काठमाडौं बौद्ध घर भएकी पुजा रानालाई एनआरएन युएईको सक्रियतामा उद्दार गरी नेपाल पठाइएको एनआरएन युएईका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिए ।

भारतको बाटो हुँदै नोभेम्बर २३ मा युएई पुर्याइएकी काठमाडौं बौद्धकी पुजा राना (दायाँ) र साथी

टर्कीमा मासिक ३०० डलर पारिश्रमिक पाउने प्रलोभनमा परेर पुजा मोरङनिवासी कमानसिंह तामाङमार्फत युएई आइपुगेकी हुन् । पूजाले धर्म दाइ मान्ने गरेका तामाङलाई नेपाली रुपैयाँ ५० हजार बुझाएकी थिइन् ।

भैरहवाको बाटो हुँदै दलाल मोना राई र समबे शेर्पाको साथमा भारतको दिल्ली पुर्याएको उनले बताइन् । दिल्लीमा १७ दिन बसिसकेपछि भारतीय नागरिकले विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिषामा युएई आइपुगेको उनले जानकारी दिए ।

युएई आइपुगेपछि शारजाह विमानस्थलबाट उनलाई एक अरबीभाषी (कुन देशको नागरिक भन्ने थाहा छैन)ले आफ्नो अपार्टमेन्टमा लगी घरायसी काममा लगाएका थिए । पूजाले दिएको जानकारीअनुसार टर्की जान भनेर युएई पुर्याइएकी उनलाई उक्त अरबी भाषी नागरिकले कहिले लेबनान लैजाने त कहिने सिरिया लैजाने भन्दै घरमा चाबी लगाएर राखेको थियो ।

 

पुजालार्इ युएर्इ पुर्याएकाे अाराेप लागेका मोरङनिवासी कमानसिंह तामाङ
पूजाले नयाँ पत्रिकासँग भनिन्, ‘मलाई कहिले अफिस जानुपर्छ भन्ने, कहिले मेडिकल गर्न जानुपर्छ भन्ने गर्थे । तर, बाहिर जान दिएका थिएनन् । त्यसैबीच कल्पना दर्जीसँग भेट भयो । उहाँले आफू पनि अनिता शेर्पा नाम गरेकी महिलामार्फत बेचिएको भन्दै सबैजना सिरियामा बेचिन लागेको बताएपछि छाँगाबाट खसेजस्तो भएँ ।’

वैदेशिक रोजगारीमा गएर कमाइ गर्ने र परिवारका आवश्यकता पूरा गर्ने सोच राखेर यहाँ आएकी रानाले बेचिन लागेको थाहा पाएपछि मात्र कसरी फुत्किने भनेर पहल थालेकी थिइन् ।

त्यसक्रममा उनीहरू विभिन्न माध्यमबाट एनआरएनए युएईका प्रतिनिधिहरूको सम्पर्कमा पुगे । तर, आफूलाई राखेको ठाँउबारे बताउन नसके पनि एनआरएनका प्रतिनिधिले पनि तत्काल उद्दार गर्न सकेनन् ।

एनआरएन युएईकी महिला संयोजक मोती राईले भनिन्, ‘उनीहरूलाई उद्दार गरी नेपाल फर्काउन धेरै विकल्पको खोजी गरे पनि सम्भव नभएपछि सिरिया जाने बेलामा एअरपोर्टबाट उद्दार गर्ने तयारी गरी करिब १५ दिन प्रतीक्षा गर्यौँ र एकजनालाई विमानस्थलबाट उद्दार गर्न सफल भयौँ ।’

दलालहरूले पूजालाई सिरिया जान भनेर डिसेम्बर १३ मा दुबई विमानस्थल लगेर पासपोर्टसहित छोडेका थिए । सोही वेला एनआरएन युएईका शमशेर योञ्जनले पुजालाई विमानस्थलबाट उद्दार गरेका हुन् ।

उद्दारपछि एनआरएन युएईमार्फत नै नेपाल फिर्तीको टिकट बनाएर पूजालाई बिहीबार नै नेपाल फर्काइएको छ । उनीसँगै रहेकी कल्पना दर्जीको भने अझै उद्दार हुन सकेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com