प्रधानमन्त्रीद्वारा संविधानविद्हरुसँग परामर्श, राजीनामा दिनु नपर्ने सुझाव


प्रकाशित मिति : पुस १, २०७४ शनिबार

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानविद्हरुसँग परामर्श गरेका छन् । शनिबार साँझ बालुवाटारमा भएको छलफलमा संविधानविद्हरुले सरकारले पेश गरेको विधेयक राष्ट्रिपतिले रोक्न नमिल्ने राय दिएका छन् ।

सरकारले दुई महिना अघि राष्ट्रिय सभा गठन सम्वन्धी अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति कार्यलयमा पेश गरेको थियो ।
राष्ट्रपतिले कुनै दलको प्रभावमा विधेयक अड्काएर राख्नु गैरसंवैधानिक काम भएको कानुनविद्हरुको निष्कर्ष थियो ।

‘संविधान अनुसार सरकारले पेश गरेको विधेयक राष्ट्रपतिले रोक्न मिल्दैन’ संविधानविदु पूर्णमान शाक्यले भने, ‘अहिले राष्ट्रिय सभा गठन गरेपछि मात्रै प्रतिनिधिसभाको समानुपातिकतर्फको संख्या बाँडफाट हुने भएकाले राष्ट्रपतिले तत्काल अघि बढाउनुपर्छ ।’

संविधानमा राष्ट्रिय सभा गठन नगरी प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदबार चयन हुन नसक्ने स्पष्ट व्यवस्था भएको बताउँदै शाक्यले पहिला राष्ट्रिय सभा गठन भएपछि मात्रै प्रतिनिधिसभाले पूर्णता पाउने र प्रधानमन्त्री चयनको प्रक्रिया सुरु हुने बताएका छन् ।

बार एसोसिएनका पूर्व अध्यक्ष हरिहर दाहालले सरकारले पेश गरेको विधेयक रोक्नु राष्ट्रपतिको असंवैधानिक कार्य हुने बताए ।

सरकारले पेश गरेको एकल संक्रमणीय मतको आधारमा राष्ट्रिय सभा गठन हुने प्रावधान संविधानको स्पि्रट अनुसार ठिक भएको पनि उनले बताए ।

‘माथिल्लो र तल्लो सदन भएका लोकतान्त्रिक मुलुकमा कहिपनि माथिल्लो सदन बहुमतका आधारमा चयन हुँदैन’ दाहालले भने, ‘हाम्रो संविधानको पनि मुख्य विषय समानुपातिक र समावेशी भएकाले राष्ट्रिय सभामा साना दलको पनि प्रतिनिधित्व हुनेगरी एकल संक्रमीय मतकै आधारमा हुनुपर्छ त्यसैले सरकराले पेश गरेको विधेयक ठिक छ, सोही अनुसार अघि बढ्नु पर्छ ।’

अर्का वरिष्ठ अधिवक्ता महादेव यादवले संविधान र ऐन कानुनले राष्ट्रिय सभा गठन नभई प्रतिनिधिसभाले पूर्णता नपाउने र प्रतिनिधिसभाले पूर्णता नपाई प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्न नसक्ने बताए । ‘समानुपातिको उम्मेदवार पनि छनोट भएपछि मात्रै प्रतिनिधिसभाले पूर्णता पाउने हो’ उनले भने, ‘त्यसका लागि राष्ट्रिय सभा पहिला गठन हुनुपर्छ ।’

संविधानविद्हरुले चुनावको मिति घोषणा गरेर प्रतिनिधिसभा विघटन भएपछि नै वर्तमान सरकार ‘केयरटेकर’को हैसियतमा भएको बताउँदै प्रधानमन्त्रीले राजीनामा गर्न आवश्यक नभएको सुझाव समेत दिएका छन् । । ‘वर्तमान सरकार केयर टेकेर हो, त्यसैले संविधान अनुसार गर्नैपर्ने काम पुरा गरेर केयर गर्नुपर्छ’ संविधानविद् शाक्यले भने, ‘त्यसैले प्रदेश प्रमुखहरु तोकेर सपथ खुवाउने वातावरण बनाउने दायित्व पनि वर्तमान सरकारको हो ।’

छलफलमा प्रधानमन्त्रीका साथै नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र संविधानविद्हरु शाक्य, दाहाल, नेपाल बारको अध्यक्ष शेरबहादुर केसी, महासचिव खम्बा खाती, पूर्व अध्यक्ष प्रेमबहादुर खड्का लगायत एक दर्जन सहभागी थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com