दाइजो र गरगहना बिना नै विवाह, विहेमा हुने खर्च बाढी पीडितलाई सहयोग


प्रकाशित मिति : पुस १, २०७४ शनिबार

पुस १ अर्घाखाँची – विवाहको पहिरनमा सजिएका एक जोडी हातमा बैंकको चेक समाएर बसिरहेका थिए । चेकमा लेखिएको थियो ५० हजार रुपैयाँ । यतिका रकम दाइजो आएको हो ? आएको हो भने कसले दियो होला भन्ने चासो विवाहमा सहभागी सबैलाई थियो ।

विवाह भए पनि विवाहको माहोल थिएन, न बाजागाजा थियो, न भोजभतेर नै । विवाहको लागि एक प्रकारको सोच सबैमा हुन्छ, बाजा बजाउने, आफन्तजनलाई खुवाउने र आफन्तले नव विवाहित जोडीलाई उपहार दिने, तर यो विवाह अलि फरक थियो । मानिसको जमात त भेला भएका थिए तर भोज भतेर खानलाई होइन आर्शिवाद दिन ।

दाइजो र गरगहना बिनानै अर्घाखाँची केरुंगाकि शान्ता पौडेल र अर्घाखाँची वांगलाका विजय भट्टराईको विवाह भएको छ । मागी विवाह गरेका यी नव दम्पतीले सल्लाह गरी विवाहमा हुने अनावश्यक खर्च कटाएर बाढी पीडितलाई सहयोग गरेका हुन् ।

यी दम्पतीले ५० हजार रुपैयाँको चेक क्वीज भोलिन्टेयर संस्था काठमाडौंलाई हस्तान्तरण गरेका छन् । दुलाहा विजय सन्धिखर्क नगरपालिका वांगलाका अहिले जिल्ला भूसंरक्षण कार्यलय पाल्पामा नायव सुब्बा हुन् । दुलही शान्ता काठमाडौं क्याम्पसमा एलएलबी तेस्रो वर्षमा अध्यनरत हुन् ।

शान्ता आफै अहिले क्वीज भोलेन्टियर सस्थामा आवद्ध छन् । परिवर्तन आफै सुरु गर्नुपर्छ भन्दै दाइजो र गरगहना बिना नै विवाह गर्ने निर्णय यी दाम्पतीले गरे । यो दाम्पतीको मुख्य उद्देश्य नै दाइजो प्रथाको विरोध गर्नु हो । आफ्नो यो कदम सामाजमा एउटा उदहारण हुने र अरुलाई प्रेरणा दिने जोडिको अपेक्षा छ ।

दुलही शान्ताले दुई वर्ष अगाडिदेखि नै आफ्नो विवाहमा दाइजो र गरगहना नलिने सोच्नुभएको थियो । घरमा बुबा आमा पनि छोरीको कुरामा सहमत हुनुभएको थियो तर उनी सपनालाई दुलाहा विजयले साकार बनाइदिनुयो, विवाहमा दाइजो नलिने आग्रह मानेर ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com