‘चकटीमा बसेर भिख माग्नुपर्ने अवस्था अन्त्य गर्छौं’


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

२७ मंसिर, काठमाडौं । माओवादी नेता एवं देउवा सरकारका बहालवाला मन्त्री जनार्दन शर्मा रुकुमबाट चुनाव जितेर काठमाडौं आइपुगेका छन् । चुनावमा खट्दा चिसो गढेर खोकीको शिकार बनेका शर्माले गोजीमा बोजोको टुक्रा बोकेका रहेछन् ।

उर्जामन्त्री हुँदा लोडसेडिङ हटाएपछि नेपाली राजनीतिमा शर्माप्रति धेरैको सकारात्मक धारणा बनेको छ । र, उनी भावी सरकारमा मन्त्रीका रुपमा अनुमान गरिएका पात्र हुन् ।

आफू देउवा सरकारमा गृहमन्त्री रहेकै बेला कांग्रेस र माओवादीको सहकार्य तोडेर एमाले–माओवादी गठबन्धनमा सुत्रधारको भूमिका खेलेका शर्माले अबको प्रधानमन्त्री केपी ओली नै भएको बताए । र, उनले अब भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र देशलाई समृद्धितर्फ लैजानुपर्ने बताए ।

बुद्धनगरस्थित अनलाइनखबरको स्टुडियोमा मन्त्री शर्मासँग अनलाइनखबरले गरेको कुराकानीको सारसंक्षेपः- 

रुकुममा चुनाव जितेर काठमाडौं आइपुग्नुभएछ, काठमाडौंको राजनीतिक माहौल कस्तो पाउनुभयो ?

दुई दिन भयो काठमाडौं आइपुगेको । काठमाडौं अहिले नेतृत्वविहीनजस्तो छ । नेताहरु बाहिरै हुनुहुन्छ ।

अब कहिलेदेखि तात्छ त काठमाडौंको राजनीति ?

शायद आजैबाट प्रक्रिया सुरु हुन्छ । शायद हिजो एमाले अध्यक्ष केपी ओलीजी राजधानी आइपुग्नुभो । भोलि बिहानसम्म हाम्रो पार्टीका अध्यक्ष प्रचण्डजी पनि आउनुहुन्छ । निर्वाचनमा जानुभएका अरु सबै नेताहरु आइसकेपछि अब नयाँ सन्दर्भको राजनीतिक बहस सुरु हुन्छ ।

चुनावको नतिजा माओवादीले आँकलन गरेअनुसारकै आयो कि, त्योभन्दा पनि बढी सिट जितियो ?

मैले गरेको आँकलनमा अरु ४ वटा थपेर ४० सिट आउँछ भन्ने थियो । तर, ३६ सिटमात्रै आयो । हाम्रै पहलकदमी पुगेन भनौं न । चारवटा सिट हाम्रो गुम्यो भन्ने मलाई महसुस भएको छ । अरु आँकलन गरे अनुसार नै आएको छ ।

चुनाव जित्न कत्तिको सजिलो भयो यसपालि ?

चुनाव जित्न मेरो हकमा कठिन भएन । त्यसको कारण के हो भने जनताले मागेको अनुहार थियो । मैले अबको पाँच वर्षमा के गर्ने भनेर जनतासँग अन्तरक्रिया गरें । कुनै प्रचार गरिनँ, पर्चा, पप्लेट बाँडिनँ, होर्डिङ बोर्ड टाँगिनँ । जनतासँग अन्तर्क्रिया गरें । निर्वाचन भयो, सकियो ।

चुनावपछिको नयाँ परिस्थितिमा आम जनतालाई के भन्न चाहनुहुन्छ ?

मैले रुकुमबाटै आह्वान गरेको छु, हामी ५ वर्ष सरकारमा जानेहरुले त काम गर्नु पर्‍यो नै, साथै म आम युवाहरुलाई आह्वान गर्न चाहन्छु, हामी सबै मिलेर अब यो देशलाई बनाउने हो । हामीले यो देशलाई छोटो समयमा विकास गर्न सक्छौं । अहिले सुनको चकटीमा बसेर भिख माग्नुपर्ने जुन, अवस्था छ, यसको अन्त्य गर्नुपर्छ ।

तपाई देउवा सरकारको मन्त्रीसमेत हुनुहुन्छ । कांग्रेससँग माओवादीको सहकार्य चलिरहेको थियो । दशैंका बेला एकाएक त्यो सहकार्य तोडेर एमालेसँग सहकार्यको घोषणा भयो । यसको रचनाकार तपाईलाई पनि लिइन्छ । तपाईकै लाइन अनुसार एमाले र माओवादीको गठबन्धन भएको हो ?

नेपाली जनताको चाहना वामपन्थी जनमत एक ठाउँमा होस् भन्ने थियो । हाम्रा नेताहरुबीच पनि त्योखालको बिचार थियो । बेला–बेला पहल पनि गर्नुभएको थियो तर सफल भएको थिएन । अहिलेको सन्दर्भमा यो वाम नेताहरुकै मुख्य लाइन हो, मेरो मात्र लाइन त होइन । तर यो राजनीतिक परिदृष्यको कोरियोग्राफी गर्ने काममा म आफू पनि लागेको कुरा साँचो हो । एउटा वातावरण बनाउने काम गरेको हुँ ।

माओवादीले कांग्रेससँग सहकार्य तोड्नुको कारण के थियो ?

सरकारमा बसिरहँदा यस्तै पाराले देशमा विकास नहुने अवस्था देखें । विगतको जस्तो तरिकाले देशको विकास नहुने, जनताले कुनै उपलब्धी नपाउने भन्ने कुरा मलाई महसुस भइसकेपछि र भित्रैदेखि त्यो कुरा लागिसकेपछि मैले नेताहरुसँग गएर वाम एकताका लागि हारगुहार गरेको हुँ । रोएको हुँ । कराएको हुँ । आफ्नो कुरा राखेको हुँ । अविश्वासको जुन वातावरण थियो त्यसलाई विश्वासमा बदल्ने कुरामा भूमिका खेलेकै हुँ ।

राजनीतिक अस्थिरताले देश बन्दैनथ्यो । स्थिरता कहाँबाट हुन्थ्यो त भन्दाखेरि नेपालमा भएको दुई तिहाइ वामपन्थी जनमतलाई एकठाउँमा ल्याउँदाखेरिमात्रै स्थिरता हुन्छ भन्ने कुरा लागेपछि यो अभियानमा म लागेको हुँ ।

त्यसबेला वाम गठबन्धन अगाडि बढ्दैन, निर्वाचन सम्भव छैन भन्ने सोच र तर्कहरु नआएका पनि होइनन् । देश अर्कोतिर गयो, अब बर्बाद भयो भन्ने तर्क आएका थिए । तर, जुन उद्देश्यले यो वातावरण बनाउनेतिर म लागें र हाम्रो नेताहरुले एउटा निर्णयमा पु¥याउनुभयो । आज निर्वाचनसम्म आइपुग्दा जनमतको हिसाबलाई हेर्दा त्यो सफल भएको छ र आज मलाई गर्व लागेको छ ।

आम नेपालीहरुले चाहेको कुरा हो यो । राजनीतिक स्थायित्वतिर देश जाने भयो भन्ने एउटा ठूलो आशा र विश्वास यतिबेला भएको छ ।

अबको वामपन्थीको नेतृत्वमा सरकार बन्दैछ । संविधानतः प्रधानमन्त्रीसहित २५ सदस्यीय मात्रै बनाउन पाइन्छ । मन्त्रीका आकांक्षीहरु एमाले र माओवादीमा धेरै छन् । अब सरकार बनाउने बेलामा झगडा पर्छ कि पर्दैन ?

अहिले हामी वामपन्थी पार्टीहरुलाई यो एउटा ठूलो चुनौति हो । मैले यसलाई सकारात्मक चुनौतिको रुपमा लिएको छु । यो चुनौतिलाई सामना गर्न हामी कति तयार हुन्छौं, त्यसबाट देशको भविश्य बल्ल स्पष्ट हुन्छ ।

हामीले सामना गर्नुपर्ने केही विषयहरु छन् । यो सकारात्मक चुनौति, जनताले दिएको जनमतलाई राजनीतिक स्थायित्वमा लैजानका लागि हाम्रा आ–आफ्ना दम्भ र घमण्डहरु बिल्कुल हुनुहुन्न र नम्र भएर जानुपर्छ ।

दोस्रो कुरा, यो देशमा अत्यन्त जर्जररुपमा रहेको भ्रष्टाचारकाविरुद्ध सशक्तरुपमा प्रस्तुत हुनुपर्छ अबको नेतृत्व, सरकार, मन्त्री र हामी सबै कार्यकर्ता ।

तेस्रो कुरा, हामीले राष्ट्रको समृद्धिको जुन सपना देखेका छौं, तपाईं हामी सबैले देखेको सपना हो त्यो । यो राष्ट्रलाई कसरी बलियो बनाउने, यो राष्ट्र कसरी समृद्ध बनाउने, जनताको जीबन सुखी बनोस् भन्ने त सबैको चाहना हो, आम नेपालीको चाहना हो ।

त्यो चाहनालाई योजनागत ढंगले एउटा मूर्तरुप दिने अवसर हामीलाई प्राप्त भएको छ । त्यो कुरामा अब हाम्रो ध्यान केन्द्रित गर्नुपर्छ । यति कुरा हामीले गर्न सक्यौं भने राष्ट्रको भविष्य उज्ज्वल हुनेछ ।

सरकारको जुन कुरा छ, यो समग्र राष्ट्रको हितको अगाडि पद र मन्त्रीका लागि तँछाड–मछाड गर्नु त्योभन्दा अरु तल्लोस्तरको कुरा अरु केही हुँदैन । त्यसैले नेतृत्वले सोचेर, पार्टीहरुले सोचेर अघि मैले भनेका चुनौतिहरुलाई सामना गर्नसक्ने स्तरको मन्त्रिमण्डल बनाउनुपर्छ ।

राष्ट्रप्रति इमान्दार र भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्न सक्ने अनि समृद्धिको अभियानलाई उथल–पुथलपूर्ण रुपले अगाडि बढाउनेखालको सोच, एकता र दृष्टिकोण भएका मन्त्रिहरुको मन्त्रीमण्डल बनाउनुपर्छ । नेतृत्वले पनि त्यसरी सोच्नुपर्छ । त्यसो गर्दा जनप्रतिनिधिहरु सबैले काम पाउँछन् । कोही पनि कामविहीन हुँदैन ।

प्रधानमन्त्रीचाहिँ अब केपी ओली नै हो ?

अध्यक्ष प्रचण्डको भनाइलाई दोहोर्‍याएर भन्दाखेरि अबको प्रधानमन्त्री केपी ओलीजी नै हुनुहुन्छ ।

गृहमन्त्रालयमा माओवादीले दाबी गर्छ कि गर्दैन ?

कुन मन्त्रालय दाबी गर्ने प्रश्न भन्दा पनि समग्रतामा हामीले कस्तो मन्त्रिमण्डल बनाउँछौं र कसरी त्यसलाई सञ्चालन गर्छौं, भन्ने कुरामा आधारित हुने भएको हुनाले नेतृत्वले यसका बारेमा पार्टीका सबैको सल्लाह लिएर उहाँहरुले निर्णय गर्नुहुन्छ ।

कसले के दाबी गर्ने भन्नु भन्दा पनि अब त हामी एउटै पार्टी बन्दैछौं । पार्टी एकता गर्दैछौं । एकता गर्दै गरेको सन्दर्भमा कुन पार्टीले दाबी गर्ने भन्दा पनि कस्तो प्रकारको मन्त्रिमण्डल बनाउने भन्ने प्रश्न नै बहसको विषय बन्नुपर्छ र बन्छ भन्ने मलाई लागेको छ ।

तपाईहरु केपी ओलीसँग यति धेरै विश्वस्त हुनुहुन्छ, तर, हिजोसम्म एमाले एउटै पार्टी हुँदा त केपी ओलीले एकलौटी गर्नुभो भो भनेर माधव नेपाल पक्षले विरोध गरिरहेको सुनिन्थ्यो । भोलि फेरि ओलीले एकलौटी गरेको गुनासो आयो भने नि ? त्यसले पार्टी एकतालाई डिस्टर्ब गर्दैन ?

मन्त्री त २५ सै जना गर्ने हो । अहिले त २५ लाई २६ मन्त्री बनाउन सकिँदैन । मन्त्री कतिजना हुन्छन् भन्ने कुरा भन्दा पनि समावेशी र समानुपातिक अवधारणामा बन्नुपर्छ । र, त्यसरी बन्ने मन्त्रीले अहिलेको भिजन र एकताको स्पिरिट अनि जनताले हामीसँग गरेको समृद्धि र राजनीतिक स्थायित्वको अपेक्षालाई ध्यान दिनुपर्छ ।

०१५ सालदेखि यता आइसकेपछि दुई/दुईपटक कांग्रेसले बहुमत त पायो तर, उसले बहुमतको सदुपयोग गरेन । हामीले पहिलोपटक यो अवसर लिँदैछौं । अब हामी यसको सदुपयोग गर्न सक्छौं कि सक्दैनौं ? प्रश्न यहाँनेर हो । यसमा देशको भविश्य कस्तो हुन्छ भन्ने कुरा निर्भर हुने भएको हुनाले हामी पद र प्रतिष्ठा भन्दा पनि मुख्य कुरा यो मिसनलाई पूरा गर्ने कुरामा लाग्छौं ।

अब बन्ने मन्त्रीले घुस खाँदैनन् भनेर जनतालाई ग्यारेन्टी गर्न सकिन्छ ?

अब बन्ने मन्त्रीले घुस खायो भने त्यसका विरुद्ध जनता फेरि अर्को आन्दोलनमा आउँछन् । त्यसकारण अहिलेको मन्त्रिमण्डलको मुख्य चुनौती भनेको भ्रष्टाचारका विरुद्धको अभियानको नेतृत्व गर्ने हो यो सरकारले ।

कर्मचारी सरुवा–बढुवामा पैसा खाने/खुवाउने चलन छ, यो चलनको पनि अन्त्य होला त ?

यहाँ धेरै भ्रष्टाचारहरु छन् । नीतिगत भ्रष्टाचार, अरु भ्रष्टाचारहरु छन् । यस्ता भ्रष्टाचार विरुद्ध सशक्त अभियान चलाउनु अहिलेको सरकारको प्रमुख दायित्व हो । राजनीतिक नेतृत्व जब बलियो हुन्छ, अरु कसैले बदमासी गर्‍यो भने कारवाही गर्ने अधिकार पनि हुन्छ । त्यसकारण यो कुरा मलाई गाह्रो छ जस्तो लाग्दैन ।

तपाई उर्जामन्त्री हुँदा कुलमान घिसिङसँग मिलेर लोडसेडिङ अन्त्य गर्नुभयो । तपाईभन्दा पहिले तपाईकै पार्टीका नेताले नसकेको काम कसरी सफल भयो ?

राजनीतिक नेतृत्वले बनाउने भिजन र योजना कार्यान्वयन गर्ने हो कर्मचारीतन्त्रले । एउटा भ्रम के छ भने कर्मचारीले गरेको । गर्ने त कर्मचारीले हो, प्राविधिकरुपले कर्मचारीले गर्नुपर्छ । विभिन्न विशिष्ट द्दान उनीहरुसँग हुन्छ । तर, ठीक ट्रयाकमा लगिएन भने हुँदैन ।

जस्तो– लोडसेडिङकै अन्त्य पनि मैले एक नम्बर बुँदामा लेखेर अन्त्य गर्छु भनेर मन्त्री भएको १५ दिनमा तपाईहरुका अगाडि नभनेको भए र त्यो खालको सम्भावनाको खोजी मैले नगरेको भए इञ्जिनियरले मात्रै लोडसेडिङ अन्त्य गर्थे भन्ने कुरा त्यो गलत हो । किनभने इञ्जिनियरहरु २०/२२ वर्षदेखि त्यहीँ थिए । त्यसकारण हामीले कुन गाइडलाइनमा लैजान्छौं भन्ने कुरा निर्भर गर्छ ।

विना विभागीय बनाएर नथन्क्याइएको भए तपाईले गृहमन्त्रीका रुपमा चुनाव गराउन पाउनुहुने थियो । त्योबेलामा बम बिस्फोटन र हिंसाका घटना रोकिन्थे कि ?

गृह मन्त्रालयमा गएर मैले ८४ बुँदे कार्ययोजना तयार पारेको छु । र, क्लिन काठमाडौंको अवधारणा मैले अगाडि बढाएको छु । काठमाडौंलाई शान्त राजधानी बनाउने मैले अभियान सुरु गरेको थिएँ । त्यो सुरु गरेको एक/डेढ महिनामा मैले गृहमन्त्रालय छोड्नुपर्‍यो ।

मैले निर्वाचनका चुनौतीहरु के हुन सक्छन् भनेर योजना पनि बनाएको थिएँ । ती योजनाहरुको कार्यान्वयन सही ढंगले हुन नसक्दाखेरि विभिन्न घटनाक्रमका वीचबाट गुज्रनुपर्‍यो । सम्माननीय प्रधानमन्त्रीज्युले गृहमन्त्रालय त लिनुभयो तर उहाँले प्रत्यक्ष कमाण्ड कन्ट्रोल गर्न सक्ने अवस्था थिएन, गर्न सक्नुभएन । त्यसकारणले घटनाहरु अलि बढी देखिए । विभिन्न ठाउँमा क्षतिहरु पनि भयो ।

तपाई उर्जामन्त्री र गृहमन्त्री हुँदा राम्रै भूमिका खेल्नुभयो । अबको सरकारमा तपाईलाई गृहमन्त्री वा उर्जामन्त्रीमध्ये कुन भूमिकामा देख्न पाइएला ?

व्यक्तिगत रुपमा मैले कुन मन्त्रालय पाउनुपर्छ भनेर माग गर्न मिल्दैन र गर्दिनँ । यो जनताको मागले र नेतृत्वको मूल्यांकनले निर्धारण गर्ने कुरा हो । त्यसैले कुनै पद विशेष फलानो भनेर माग गर्ने कुरा मेरो होइन, म एउटामात्रै कुरा भन्न चाहन्छु कि यो समृद्धिको अभियानलाई विद्युतीय गतिमा अगाडि बढाउने ठाउँमा मेरो भूमिका हुनेछ ।

तपाईले शेरबहादुर देउवासँग सरकारमा बसेर काम गर्नुभयो । कसरी मूल्यांकन गर्नुहुन्छ उहाँलाई ?

मैले छोटो समयउ उहाँसित काम गरें । उहाँको बारेमा मलाई कुनै नकारात्मक टिप्पणी गर्नु छैन । अहिले मैले उहाँलाई टिप्पणी गरिहाल्न पनि मिल्दैन । समग्रतामा एउटा भिजनसहित, एउटा प्रतिवद्धतासहित अगाडि जाने कुरामा कमी भएको हो ।

सरकारले भर्खरै प्रदेशको राजधानी र प्रदेश प्रमुखहरु तोक्न खोज्दा वाम गठबन्धनले दिएन भन्ने समाचारहरु आइरहेका छन् । के यो सत्य हो ? सरकारलाई प्रदेश प्रमुखहरु तोक्न किन नदिएको ?

संविधानको आधारमा तोक्ने कुरा प्रष्टै छ । तर, अहिले निर्वाचन भइसकेको सन्दर्भमा सहकार्य नै नगरी, छलफल नै नगरी सरकारले एकलौटी तोक्ने कुरा उचित हुँदैन । किनभने अब नयाँ सरकार बन्दैछ । अबको दुईतीन दिनमै समानुपातिकको पनि मतगणना सकिँदैछ । त्यसैले नयाँ सरकार बन्ने बेलामा उहाँहरुले एकलौटी ढंगले तोक्ने कुरा राम्रो हुँदैन ।

भोलि सरकारमा हामी हौंला, उहाँहरु नरहनुहोला, त्यसबेलामा हामीले सबैसित सल्लाह गरेर नै तोक्ने कुरा हो यो । सबैको समझदारी र सहमतिमा तोक्ने कुरा हो । सरकारले एकलौटी तोक्न हुँदैन । त्यसकारण वाम गठबन्धनले भनेको कुरा के हो भने अहिले रणनीतिक महत्वका निर्णयहरु अहिलेको सरकारले नगरोस् ।

भनेपछि शेरबहादुर देउवा, केपी ओली र प्रचण्डसमेतको तीन दलको बैठक राखेर सहमतिमा प्रदेश प्रमुखहरु तोकियोस् भन्ने तपाईहरुको भनाइ हो ?

एउटा समझदारी त बन्नु पर्‍यो नि । समझदारी नबनिकन निर्णय गर्न मिलेन । फेरि चाँडै सरकार बन्दैछ, १० दिनपछि तोक्दा पनि केही बिग्रिइहाल्ने छैन ।

तर, अलिकति व्यवहारिक कठिनाई त छ नि ? प्रदेशसभाको बैठक बस्नुपर्ने छ, त्यो भन्दा पहिले सपथ खुवाउनुपर्नेछ…..

सपथ खुवाउन, बैठक बोलाउनलाई पनि १० दिनभित्र गर्न सकिन्छ । सरकार गठनका लागि जुन समय छ, यो समयभित्रै यी सबै कुराहरु गर्न सकिन्छ ।

उसोभए देउवाकै पालामा प्रदेश प्रमुख नियुक्त गर्दा पनि फरक पर्दैन, तर सर्वदलीय सहमतिमा गरिनुपर्छ भन्ने भनाइ हो वाम गठबन्धनको ?

हैन । पालामा भन्दा पनि नैतिकरुपले के सही हो भन्ने हेर्नुपर्‍यो । निर्वाचनको परिणाम आइसकेपछि कामचलाउ सरकारले निर्णय गर्नका लागि पनि त नैतिक संकट पर्छ नि । यो कुरा त बुझ्नुपर्छ नि उहाँहरुले पनि ।

अब माओवादी र एमालेवीचमा पार्टी एकता हुन्छ कि हुँदैन ?

पार्टी एकता अनौपचारिक रुपमा भइसक्यो । हामी निर्वाचनमा एउटा मिसन बनाएर गयौं । कार्यकर्ताहरुको देशव्यापी अभियान सञ्चालन गरेर एउटै पार्टीको अनुभूति मैले पनि लिएर आएको छु । माथि पनि नेताहरुले एकता संयोजन समिति बनाएर निर्णय गरिसक्नुभएको छ ।

अब प्राविधिकरुपले एउटै पार्टी बनाएर जान बाँकी छ । त्यसलाई प्राविधिकरुपले एउटै बनाउने प्रोसेसमा हामी छिटै हाल्छौं । र, छिटै पार्टी एकता हुन्छ 

कहिलेसम्म हुन्छ एकता ? छ महिना, एक वर्ष ? या तत्कालै ?

अहिले समय तोकेर म त्यसरी भन्न सक्दिनँ । यसलाई धेरै समय, एक वर्ष/दुई वर्ष लगाउनु आवश्यकै छैन । केही व्यवहारिक, सैद्धान्तिक कुराहरुलाई हामीले ठोस गरेर अर्को महाधिवशेनमा जाने गरी हामीले पार्टी एकता गर्ने हो । अहिले नै सबै पूर्ण एकता हुँदैन । कमिटीहरु बनाएर महाधिवेशनको तयारी गर्नुपर्ने भएको हुनाले अहिले छिटै पार्टी एकताको प्रक्रिया अगाडि बढ्छ र महाधिवेशनमा गएर त्यसले पूर्णता पाउँछ ।

तपाई फेरि गृहमन्त्री बन्दै हुनुहुन्छ ?

यो मेरो व्यक्तिगत च्वाइसको कुरो होइन ।

च्वाइसको कुरो गर्नुभयो, तपाई पहिले शिक्षक हुनुहुन्थ्यो ?

शिक्षक भन्नाले मैले ५/७ महिना पढाएको हो । मैले ५ वर्ष कृषिमा जागिर खाएको हो । एक वर्षजस्तो हेल्थपोष्टमा जागिर खाएको हो । त्यस्तै, ६/७ महिना तथ्यांकमा जागिर खाएको हो ।

राजनीतिक अनुभवको कुरो गर्दा तपाई जनसेनाको डेपुटी कमाण्डर पनि हुनुभयो । यसको अर्थ तपाई शिक्षा मन्त्रालय, कृषि मन्त्रालय, स्वास्थ्य मन्त्रालय वा गृह जे पनि हाँक्न सक्नुहुन्छ ?

मैले व्यक्तिगत रुपमा गर्ने मेरो विशेष क्षमता होइन । एउटै कुरा के हो भने मलाई दिइएको जिम्मेवारीमा म आफ्नो कमिटमेन्टबाट पछि हट्दिनँ । त्यो ठाउँमा आफ्नो क्षमताले भ्याएसम्म र सबैलाई समेटेर काम गर्छु । मेरो यतिमात्रै संकल्प हो । अरु विशेष क्षमता मसित छैन ।

विपक्षीसँग कस्तो व्यवहार गर्नुहुन्छ ?

राजनीतिक विपक्षी त सहयात्री नै हुन् । कुन विपक्षी भन्ने ? राष्ट्र, राष्ट्रियताका विरुद्ध खडा हुने विपक्षीसँग म कहिल्यै पनि राम्रो व्यवहार गर्दिनँ । बाँकी राजनीतिक विपक्षीहरु भनेका त सहयात्री नै हुन् नि । उनीहरुसँग त सल्लाह लिनुपर्छ । उनको पनि आलोचना सुन्नुपर्छ । मैले तीन पटक चुनाव जितें । मैले त्यहाँका विपक्षीहरुको पनि काम समान ढंगले गरेको छु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com